डा.नारायण खड्का, प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेस
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो दाबी अत्यन्त बलियो छ । किनभने संविधानलाई सामान्य ज्ञानको हिसावले बुझ्ने, संविधानको धारा ७६ को १, २, ३, ४, ५ र ६ मा के–के लेखिएको छ, त्यो पालना भयो कि भएन, राष्ट्रपतिले संविधानको धारा पालना गर्नुभयो कि भएन, ओली कुन वैधानिकताअनुसार प्रधानमन्त्री बने भन्ने कुरा सामान्य व्याख्या गर्ने मान्छेले पनि सजिलैसँग बुझ्न सक्छन् । त्यसैले यो सरासर असंवैधानिक, संविधानलाई भताभुङ बनाउने, अस्थिरतातर्फ उन्मुख गराउने र एक दलीय तानाशाही व्यवस्थालाई उक्साउने खालको गतिविधि भएकोले धारा ७६ (५) अन्तर्गत १४९ जना बहुमत सांसदहरुको निवेदनलाई अस्वीकार गरेर निर्णय आउन सक्दैन । राष्ट्रपतिले हाम्रो दाबी पुग्दैन भनेर जसरी व्याख्या गर्नुभयो त्यो अत्यन्तै असंवैधानिक, गैरकानूनी, अराजनीतिक, अदूरदर्शी रहेको छ ।