धिरेन्द्र प्रेमर्षि, साहित्यकार तथा संस्कृति विद्
होली आनन्द, उल्लास र प्रेमको पर्व हो । मनभित्रका विभिन्न वैमनस्यहरुलाई पखालेर आत्मीयताको न्यानोपनमा बाँधिने पर्व हो होली । यहीरुपमा मनाइँदै आएको छ र मैले पनि यसैरुपमा मनाउने गरेको छु । खासगरी हिन्दू सभ्यतामा मनाइने जेजस्ता पनि चाडबाडहरु छन्, सबैको पृष्ठभूमिमा सामान्यतया केही किंवदन्तीहरु जोडिएका हुन्छन् । असत्यमाथि सत्यको विजय, भक्त प्रहलादको कुरा लगायतको यसको पृष्ठभूमि रहेको पाइन्छ । समाजलाई एउटा दिशा दिने क्रममा अलिखित प्रकृतिको प्रावधान, विधान समाजका ज्ञाताहरुले बनाएका हुन्छन् । त्यसै क्रममा यी विभिन्न चाडवाडहरुले कुनै न कुनै संकेत गरिरहेका हुन्छन् । नराम्रो पक्षलाई पन्छाउने, राम्रो पक्षतिर जाने । यो पनि त्यसकै एउटा उपक्रम हो भन्ने लाग्छ । वर्षभरि हामी विभिन्न कामकाजको शिलशिलामा हुन्छौं, यी सब जोडेर एकआपसमा बसेर रमाइलो गरौं, उल्लास मनाऔं भन्ने सामान्य मान्यता यही हो ।