काठमाडौं, १४ माघ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर भारतबाट पाइपमार्फत डिजेल आयात गरिरहेको नेपाल आयल निगमले पूर्वी नेपाललाई लक्ष्य गर्दै भारतसँग दोस्रो अन्तरदेशीय पाइपलाइन निर्माण गर्ने तयारी गरेको छ ।
भारतको सिलगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने विषयमा दुई देशबीच सहमति भएको निगमले जनाएको छ ।
निगमका अनुसार दुई देशका उच्च सरकारी अधिकारीबीच भएको बैठकमा पाइपलाइन निर्माणका लागि दुवैतर्फका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।
गत हप्ता काठमाडौंमा सम्पन्न द्विपक्षीय सचिवस्तरीय बैठकमा भारतीय अधिकारीहरुले सिलीगुडी–झापा पाइपलाइन निर्माण गर्न सहमति जनाए ।
यस्तै हालै भारतमा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपको सहसचिवस्तरीय बैठकमा प्रवेश पाएको पाइपलाइनको विषयमा यो बैठकले सैद्धान्तिक सहमति जनाएको छ ।
सिलगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्न इन्डियन आयल कर्पोरेसन (आइओसी) तयार रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।
यसैगरी, आइओसीले नेपालमा पेट्रोलियम तालिम केन्द्र निर्माण गर्न सघाउने भएको छ दुर्घटनाको जोखिम न्यूनीकरण गर्न पेट्रोलियम व्यवसायी तथा निगमका कर्मचारीलाई पेट्रोलियम पदार्थको ढुवानी, लोड–अनलोड, सुरक्षित भण्डारण, डिपो सञ्चालनलगायत विषयमा तालिम दिने योजना हो ।
मोतिहारीबाट अमलेखगन्जसम्म ल्याएको पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न पनि दुवै पक्ष सहमत भएका छन् । निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाट ल्याउने तयारी गरेको छ ।
भारत मोतिहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइलाइन निर्माण गर्ने विषयमा निगम र आइओसीबीच यसअघि नै सहमति भएको छ । ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारण स्थल निर्माण गर्न २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया