बैशाखदेखि पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउने

अर्थ/वाणिज्य

1/16/2019

काठमाडौं, २ माघ । दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ ।

सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय शहर रक्सौल बजारदेखि बाराको अमलेखगञ्जसम्म ३७ दशमलव २५ किमी छ ।

परियोजनाअन्तर्गत पाइपबिछ्याउने काम द्रुतगतिमा भइरहेकाले वैशाखदेखि पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।

नेपालतर्फ ३७ दशमलव २५ किलोमिटर भू–भागमध्ये गण्डकदेखि परवानीपुरसम्म करीब एक किमी र पर्सा राष्ट्रिय निकुञ्जको नौ किमी गरी कुल १० किमी भू–भागमा मात्र पाइपलाइन ओछ्याउन बाँकी रहेको परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेलले बताए ।

भारत विहारको राजधानी पटना हुँदै सिवान र मोतिहारीदेखि रक्सौलसम्म पाइपलाइन आउने भएकाले सो क्षेत्रमा करीब चार किमी पाइप ओछ्याउने काम बाँकी रहेको छ भने सीमावर्ती भारतको रक्सौलदेखि सिर्सिया नदीमा पाइप छिराइ वीरगञ्ज भन्सारको शङ्कराचार्य गेटसम्म ल्याउने काम भइरहेको छ ।

नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको सो उक्त परियोजना भारतीय आयल कर्पोरेशन (आइओसी) को दुई अर्ब भारतीय रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको छ ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि नेपाललाई निकै आर्थिक लाभ हुने यहाँका व्यापारीको भनाइ छ ।

यसबाट वीरगञ्ज नाका तथा भन्सार क्षेत्रमा हुने लामो जाम र भीड अन्त्य हुने तथा वीरगञ्ज पथलैया सडक खण्डमा हुने ट्याङ्करको चाप पनि घटेर जाने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ