पोखरा, १३ फागुन । कोरोना भाइरस महामारीले चिनियाँ पर्यटकको नेपाल आगमन ठप्प छ । यसको प्रभाव पोखराको पर्यटनमा समेत परेको छ ।
गत वर्षभन्दा धेरै चिनियाँ आउने अपेक्षा गरिएकोमा चिनियाँ नयाँ वर्षको सुरुमै कोरोना भाइरस फैलिएपछि नेपालले घोषणा गरेको भिजिट नेपाल २०२० मा प्रत्यक्ष असर परेको छ ।
चिनियाँ पर्यटकको आगमन अत्यन्त खस्केको अवस्थामा पोखरेली पर्यटन व्यवसायीको टोली भारतमा पोखरा प्रबद्र्धन गर्न उत्तरपूर्वी भारतीय सहर कोलकातातर्फ गएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलको नेतृत्वमा भारतीय राज्य पश्चिम बंगालको सिलिगुरी र कोलकतातर्फ गएका हुन् ।
व्यवसायीको टोली भारतीय सहर सिलिगुरीमा हुने बंगाल ट्रभल्स मार्ट (बीटीएम) मा सहभागी हुनेछ । भुटान, बंगलादेशसहित भारतका विभिन्न प्रान्तका पर्यटन व्यवसायी सहभागी हुने बीटीएमको नेपाली स्टलमा पोखराका होटल, ट्रभल, टेकिङ, पर्वतारोहणसम्बद्ध १२ वइवसायीले डेस्क राखेर पोखरा आउन भारत, भुटान र बंगलादेशका व्यवसायीमार्फत् निम्तो बाँड्नेछन् । बीटीएममा हुने ‘पोखरा नाइट’ मा पोखरासम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिने परिषद्का अध्यक्ष पोखरेलले बताए ।
तपाईको प्रतिक्रिया