बुटवल पावर कम्पनीले निष्काशन गरेर बिक्री नभएको झण्डै २८ प्रतिशत सेयर प्रत्याभुतकर्ताहरुले किन्नु पर्ने भएको छ । यस अघिका सार्वजनिक निष्काशनमा लगानीकर्ताको अधिक चाप पर्ने भए पनि महंगो मूल्यमा लगानीकर्ताको ढाड सेक्ने गरी सेयर निष्काशन भए पछि ढिलोमा आवेदन गर्ने मितिसम्ममा पनि कम्पनीको सेयर बिक्री नभएको हो ।
एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको सेयरमा कुल १ अर्ब ४६ करोड ३० लाख रुपैंया बराबरको मात्र आवेदन परेको छ । ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन भएकोमा २९ लाख २० हजार कित्ता सेयर मात्र बिक्री भएको हो । बिक्री हुन नसकेको ११ लाख ६१ हजार कित्ता बराबरको सेयर प्रत्यभुतकर्ता कम्पनीहरुले किन्नु पर्नेछ ।
कम्पनीले १ सय रुपैंया अंकित मूल्यमा ४०१ रुपैंया प्रिमियम थप गरी ५०१ रुपैंया प्रतिकित्ताको दरमा सेयर निष्काशन गरेको थियो । उक्त सेयर निष्काशनका दौरान ठुलो आर्थिक चलखेल भएको भन्ने लगानीकर्ताको गुनासो सेयर बिक्री नभएबाट पनि पुष्टि भएको छ ।
कुन कम्पनीले कति किन्नु पर्छ सेयर ?
निष्काशन भएको कुल ४० लाख ८१ हजार कित्ता सेयरमा एनएमबी क्यापिटलले सबैभन्दा धेरै अर्थात ३४.२३ प्रतिशत सेयर प्रत्याभुत गरेको थियो । यस आधारमा नबिकेको सेयरमध्ये एनएमबी क्यापिटलले झण्डै ४ लाख कित्ता सेयर किन्नु पर्ने हुन्छ । यसमा क्यापिटलले २० करोड १ लाख ४१ ह्जार रुपैंयाभन्दा बढी रकम लगानी गर्नु पर्ने हुन्छ ।
२९.३४ प्रतिशत सेयर प्रत्याभुत गरेको एनआईबिएल क्यापिटलले झण्डै १७ करोड १५ लाख ५० हजार रुपैंया बराबरको ३ लाख ४२ हजार ४५० कित्ताको हाराहारीमा सेयर किन्नु पर्ने भएको हो ।
त्यसै गरी लक्ष्मी क्यापिटलले ६ करोड ९९ लाख ३२ हजार रुपैंया बराबरको झण्डै १ लाख ३९ हजार ५८५ कित्ता सेयरमा लगानी गर्नु पर्ने हुन्छ ।
नबिल इन्भेष्टमेण्ट बैंकिंगले ४ करोड २८ लाख ७ हजार ५ सय रुपैंया बराबरको झण्डै ५ हजार ६ सय कित्ता सेयर किन्नु पर्ने हुन्छ । ग्लोबल आईएमई क्यापिटलको भागमा पनि ३ करोड ४३ लाख १० हजार रुपैंया बराबरको झण्डै ६८ हजार ४८५ कित्ता सेयर परेको छ ।
मेरो लगानीमा प्रकाशित
तपाईको प्रतिक्रिया