तराई–मधेशको विकासका लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री खतिवडा

अर्थ/वाणिज्य

9/16/2018

राजविराज, १९ भाद्र । अर्थमन्त्री डा युवराज खतिवडाले तराई–मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

राजविराजमा उद्योग वाणिज्य सङ्घ सप्तरीद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासका लागि तराई मधेशमा हुलाकी सडक निर्माण कार्य जारी रहेको र पूर्व–पश्चिम रेलमार्गसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

रेलमार्गसम्बन्धी भारत सरकारसँग कुराकानी भइरहेको बताउँदै काँकडभिट्टादेखि बर्दिवाससम्म रेलमार्ग निर्माण कार्य चाँडै शुरु हुने अर्थमन्त्री खतिवडाले बताए । पूर्वाधार विकासका लागि तराई मधेशमा खर्चेको बजेट सदुपयोग हुनुपर्नेमा उनको जोड थियो । 

कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले कुनोली भन्सार र छोटी भन्सार कार्यालय तथा तराई मधेशमा रहेको भन्सार कार्यालयको स्तरोन्नतिका लागि गृहकार्य भइरहेको बताए । 

यसैबीच अर्थमन्त्री डा खतिवडाले सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिँह औद्योगिक क्षेत्रको निरीक्षण गरे । विद्युत, पानी, सुरक्षालगायत आधारभूत पूर्वाधारसमेत नभएका कारण उद्योग सञ्चालनमा समस्या रहेको गुनासो बढेपछि अर्थमन्त्री खतिवडाले औद्योगिक क्षेत्रको निरीक्षण गरेका हुन् ।

भारत सरकारको सहयोगमा २०४४ सालमा स्थापित औद्योगिक क्षेत्र २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । राजविराजबाट चार किलोमिटर उत्तर रुपनी गाउँपालिकामा अवस्थित औद्योगिक क्षेत्र झण्डै २२ बिघा क्षेत्रफलमा फैलिएको छ । 

औद्योगिक क्षेत्रमा १० वटा उद्योग सञ्चालन गर्न सक्ने क्षमता भए पनि हाल कोशी पोलिमर्स, मिलन डेरी, कृष्णा खाद्य, महालक्ष्मी र पद्य ज्योति प्लास्टिक उद्योग मात्र सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ