साउदी अदालतले जलेश्वर चौधरीलाई ८ महिनाभित्र ब्लडमनि नतिरे फाँसीको सजाय सुनाएको छ । तर ब्लडमनि तिरेमा उनको सजाय माफ हुनेछ ।
ब्लडमनि वापत ४५ लाख तिर्नुपर्ने हुन्छ । जलेश्वर चौधरीको बारेमा मलाई फेसबुक मेसेन्जर मार्फत केहि अगाडि नै अपुष्ट जानकारी गराएको थियो ।
मैले थप जानकारी मागेको थिएँ । तर पाउन सकिएन । यता छैठौं खिचरा महोत्सवको तयारी चलिरहँदा पूर्वी चितवनका पत्रकार साथीहरुले जलेश्वरको बारेमा सोधखोज गरेर स्थानीय पत्रिका मार्फत् समाचार प्रकाशन गरे ।
अहिले जलेश्वर बचाऊ अभियान चलेको छ । जलेश्वर बचाऊ अभियान शुरु गर्ने संघसंस्था र साथीहरुलाई हार्दिक धन्यवाद छ ।
यसै सिलसिलामा पुस २१ गते म लगायत छैठौं खिचरा महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणि चौधरी, आर्थिक समितिका संयोजक टिकेन्द्र चौधरी, विक्रम चौधरी हामी चारजना जलेश्वर चौधरीको घर पुग्यौं ।
बिहान पत्रकार सम्मेलन, दिउँसो नृत्य प्रतियोगिताको अडिसन भ्याएर हामी बेलुकातिर जलेश्वरको घरमा पुगेका थियौं । झमक्क साँझ परिसकेको थियो । सोध्दै खोज्दै जलेश्वरको घर पुग्दा अँध्यारो भैसकेको थियो । तर जलेश्वरको घरमा बत्ती बलेको थिएन ।
आधा छानो जस्तापाता र आधा टायलले छाएको कच्ची घर रहेछ । केहि सरसामग्रीहरु यत्रतत्र छरिएको थियो । शायद दिनभरि घरमा कोहि पनि थिएन । त्यो घरको अगाडिपट्टि सानो झुपडी रहेछ । झुपडीलाई भान्साघरको रुपमा प्रयोग गरिदो रहेछ । त्यो झुपडीभित्र धिपधिपे बत्ती बलेको बाहिरैबाट देखियो ।
हामीले आवाज दिएपछि भित्रबाट एकजना अन्दाजी साठी पैसट्ठी वर्षका वृद्ध बाहिर निस्केर हामीलाई नियालेर हेर्याे । उनी जलेश्वरको बुबा रहेछ । उनी घरभित्र गएर बत्ती बाले र थारु भाषामा रुन्चे स्वरमा भने “आज दिनभरि केहि खाएको छैन ।
चन्दा उठाउन गएको थिएँ । भर्खर घर पुगेर भान्सामा भात पकाउन आगो सल्काउन थालेको थिएँ ।” हामीले सोध्यौं “आमा खै त ?” “ऊ पनि चन्दा उठाउन अर्कै टोलीसँग गएकी छे, अहिलेसम्म घर पुगेकी छैन ।” उनले प्रत्युत्तरमा भन्यो ।
करीब दुई घण्टाको भलाकुसारीपछि हामीले छैठौं खिचरा महोत्सवबाट सक्दो आर्थिक सहयोग गर्नेछौं भनी आश्वासन दिएर फक्र्यौ । छोराले कमाएर ल्याएपछि सुखसँग बस्ने सपना देखेका बृद्धवृद्धाले आफ्ना २५ वर्षीय छोरा जलेश्वर चौधरीलाई बचाउन दिनरात संघर्ष गरिरहेका छन् ।
को हुन् जलेश्वर ?
जलेश्वर चौधरी खैरहनी नगरपालिका वडा नं. १०, गोठौलीका सुकराम महतो र मलुई महतोका छोरा हुन् । उनी २५ वर्षीय युवा हुन् । ऊ चार वर्ष वर्षअघि वैदेशिसक रोजगारका लागि साउदी अरब पुगेका थिए ।
साउदीमा ब्लक उत्पादन गर्ने रुफ कम्पनीको मिक्चर चलाउने काम गर्न थालेका थिए । साउदीमा एउटा दुर्घटना भयो । उनले चलाएको गाडीको पछाडिबाट एउटा कारले ठक्कर दिए ।
ठक्कर दिने कारचालकको मृत्यु भयो । घटना भएलगत्तै चौधरी जेलमा परे । दुई वर्ष जेल सजाय काटिसकेपछि मृतकका परिवारले माफी दिएपछि उनी जेलमुक्त भए ।
घर फर्किन ठिक्क परेका चौधरीलाई साउदी अदालतले एउटा फैसला सुनायो र उनी घर फर्किन सकेनन् । मृतकको आठ वर्षीय छोरा रहेको र उनको लालनपालनका लागि भन्दै साउदी अदालतले जलेश्वरसँग एक लाख ५० हजार रियल अर्थात् करिब ४५ लाख नेपाली रूपैयाँ माग गरेपछि स्वदेश फर्किने उनको सपना क्षणभरमै तुहियो । साउदी अदालतले ब्लडमनीको रुपमा चौधरीसँग सो रकम माग गरेको हो ।
साउदी अदालतले ४५ लाखको भारी बोकाएपछि जलेश्वर अहिले साउदीमै अलपत्र अवस्थामा लुकिछिपी बसेका छन् । अदालतले गत मंसिरदेखि ८ महिनाको समयसीमा राखेर सो रकम बुझाउनका लागि जलेश्वरलाई ताकेता गरेको छ ।
जलेश्वर जेलमुक्त भएको करिब ७ महिना भएको छ । जेलमा परेपछि पहिला काम गरेको कम्पनीले पनि उनलाई कामबाट निकालेको छ । चौधरी अहिले गैरकानुनीरुपमा साउदीमा छन् ।
सात महिनाअघिदेखि साथीको कोठामा लुकेर बस्दै आएका उनलाई त्यहाँ खानबस्नसमेत समस्या भएको छ । अवैध बसाइँ भएका कारण कुनै कम्पनीमा काम गर्न पाइँदैन ।
जलेश्वरको घरायसी अवस्था
जलेश्वरको बुबाको नाममा १० धुर र पुर्जा नभएको गाउँ ब्लकको १० धुर जग्गा मात्र छ । त्यस बाहेक उनको पैतृक सम्पत्ति छैन । जलेश्वरको बुबाले ज्याला मजदुरी गरेर छाक टार्ने गरेका छन् ।
ज्याला मजदुरी नगरी उनीहरुको घरमा चुल्हो बल्दैन । तर अहिले ज्याला मजदुरी गर्न पनि पाएका छैनन् । छोरालाई स्वदेश फर्काउनका लागि दैनिक रुपमा चन्दा उठाउन हिड्छन् । साउदी अदालतले माग गरेको ४५ लाख रकम बुझाउन सक्ने उनीहरुको हैसियत नै छैन ।
कमाउन गएको छोरो साउदीमा अलपत्र परेको कुरा बुबाआमाले दुई महिनाअघि मात्र थाहा पाएका हुन् । छोरालाई स्वदेश फर्काउन ४५ लाख रूपैयाँ साउदी अदालतले माग गरेको कुरा थाहा पाएपछि बुबाआमा चिन्तामा डुबेका छन् ।
छोराले विदेशबाट कमाएर पठाएको पैसाले एउटा पक्की घर बनाएर सुखसयलसँग बसौँला भन्ने आशा बुनेका सुकराको आशामा कुठारघात भएको छ । छोरा अलपत्र परेको र साउदी अदालतलाई सो रकम नबुझाई घर आउन नपाउने खबर सुनेपछि उनीहरु निदाउन सकेका छैनन् ।
जलेश्वरका बुबा सुकरा महतो र आमा मलुई महतोले छोरालाई साउदीमा मृत्यु दण्ड सुनाएको खबरले रातदिन आँखामा बलिन्धारा आँसु लिई पिल्सिनु परेको छ ।
जलेश्वर बचाऊ अभियान शुरु
गाउँलेहरुले आर्थिक संकलन सहयोग समिति गठन गरेर पैसा उठाउन सुरू गरेका छन् । उनीहरुले दुईवटा टोली बनाएर चन्दा उठाउन हिडिरहेका छन् । तर गाउँमा उठाएको पैसाले लक्ष्य प्राप्त गर्न मुस्किल छ ।
स्थानीय रुपमा यति ठूलो रकम सीमित समयमा उठाउन निकै मुस्किल परेकोले यसका लागि नेपाल सरकार र मानव अधिकारकर्मीलाई पहल गरिदिन वडा नं. १० का वडा सदस्य रामदिन चौधरीले अनुरोध गरेका छन् ।
सामाजिक स्वयंसेवक नेपाल मिसन चितवनको आयोजनामा जलेश्वर बचाऊ अभियान सुरू भएको छ । हालसम्म ४ लाख ५६ हजार ९ सय रूपैयाँ संकलन भइसकेको सामाजिक स्वयंसेवक नेपाल केन्द्रीय सदस्य ढाकाराम पौडेलले जानकारी दिएका छन् ।
यो अभियानमा सबैले सहयोग गर्न सामाजिक स्वयंसेवक नेपाल मिसन चितवनका अध्यक्ष सागर लामिछानेले बताए । हिमालयन बैंक खैरहनी शाखाको खाता नम्बर ०३००७७४५६०००१३ वा मिसन चितवनको मुक्तिनाथ विकास बंैकको खाता नम्बर ११०१०२००२८३५६३०००००१ वा सीधै सम्पर्क गरेर पनि आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ ।
यसैगरी खैरहनी नगरपालिका वडा नं. ९ बैरहनी स्थित बैरहनी युवा क्लबले पनि जलेश्वर बचाऊ अभियान संचालन गरी आर्थिक संकलन गरिरहेको क्लबका अध्यक्ष विक्रम पंजियार महतोले जानकारी गराएका छन् ।
खिचरा महोत्सवमा जलेश्वर बचाऊ अभियान
यहि पुस २८ देखि माघ ७ सम्म खैरहनी नगरपालिका वडा नं. ५, जबकौली गौचरनमा हुन गैरहेको छैठौं खिचरा महोत्सवमा पनि जलेश्वर बचाऊ अभियान संचालन गरिने आर्थिक समितिका संयोजक टिकेन्द्र चौधरीले जानकारी दिएका छन् ।
महोत्सवमा आमन्त्रित सबै कलाकार मार्फत् जलेश्वरलाई बचाउन आर्थिक संकलनका लागि आहवान् गरिने साँस्कृतिक संयोजक जयस चौधरीले बताए ।
महोत्सवको स्टेजबाट आर्थिक संकलन गर्नेहरुका नाम होस्टहरुले बाचन गर्ने, अलि बढी आर्थिक सहयोग गर्नेहरुको नाम राष्ट्रिय कलाकारहरुबाट बाचन गरिने तथा उत्कृष्ट सहयोग गर्नेहरुलाई महोत्सवको स्टेजमा आमन्त्रण गरी अभिनन्दन गरिने छ ।
यसका लागि महोत्सवको प्रचारप्रसारको जिम्मेवारी लिएको थारु पत्रकार संघ नेपाल चितवन शाखाले महत्वपूर्ण भुमिका खेल्ने छ ।
तपाईको प्रतिक्रिया