मुस्ताङ, १२ मंसिर । तीन वर्ष अघि चिनियाँ सरकारको आर्थिक सहयोगमा लोमान्थाङ बजारका लागि उपलब्ध २४० किलोवाटको सौय उर्जा सोलार बत्ती सञ्चालनमा छ ।
सोही सौर्य उर्जा बत्तीको प्राविधिक मर्मत भन्दै कोरलानाकास्थित चिनियाँ सुरक्षाकर्मी बर्सेनि दर्जनौंपटक लोमान्थाङ आउने बाटो बनेको छ ।
चिनियाँ सुरक्षा अधिकारी कुनै पनि बखत लोमान्थाङस्थित नेचुङ प्रहरी चौकीको १ जना सुरक्षा अधिकारी साथमा लिएर नाकातर्फको दक्षिण ३५ किलोमिटर वरसम्म आउन थालेका छन् ।
नेपाल सरकारले उत्तरतर्फ चीनसँग सीमा जोडिएका जिल्लामा नेपाली सीमा प्रशासनको समन्वयमा ३५ किलोमिटर दुरीसम्म आउन पाउने प्रावधान मिलाइएको लोमान्थाङ इलाका प्रशासन कार्यालयका प्रमुख मुरारी निरौलाले जानकारी दिए । यसरी नेपाल प्रवेश गर्दा उद्देश्य प्रस्ट रुपमा खुल्नुपर्छ ।
चिनियाँ सुरक्षाकर्मी भने नेपालपक्षसँग कुनै खास काम नभए पनि सोलारको प्राविधिक मर्मत गर्ने बहाना बनाएर लोमान्थाङसम्म आउने गरेको जनाइएको छ । लोमान्थाङनिवासी छेवाङ लोहाले चिनियाँ गाडीहरु नम्बर प्लेट छापेर लोमान्थाङसम्म आउने गरेको फेसबुकमा लेखेका छन् । उनले नम्बर प्लेट छापिएको गाडीको केही फोटोसमेत पोष्ट गरेका छन् ।
उनी भन्छन्, ‘उपल्लो मुस्ताङ सरकारको निषेधित तथा नियन्त्रित क्षेत्र भएको र विदेशीले ५ सय डलर बुझाउनु पर्ने र उत्तरी नाकाबाट शुुल्क नलाग्ने नियम विभेद भएको छ ।’
सरकारले भारतसँग सीमा जेडिएका जिल्लामा भारतीयलाई भने बोर्डर अनुमति लागू गरेको छैन । हिमालपारीको जिल्ला विदेशी राष्ट्रहरुको कुटनीतिक अभ्यास गर्ने थलोका रुपमा विकास भइरहेको छ ।
एक दशकअघि अमेरिकी हिमालयन फाउन्डेसनले लोमान्थाङमा माइक्रो हाइड्रो सञ्चालनमा ल्याएको थियो । हायड्रो सञ्चालनमा रहेकै अवस्थामा चिनियाँ सरकारले सौर्य उर्जा सोलार जडान गरेपछि माइक्रो हाइड्रो बेवारिसे बनेको छ ।
मुस्ताङका ५ वटै स्थानी तहमा अमेरिकी सहयोग नियोग र भारतीय राजूुतावासको सहयोमा शैैक्षिक संस्था, स्वास्थ्य र पूर्वाधार विकासमा लगानी गरिरहेको पाइन्छ ।
अनुगमनका नाममा विदेशी कुटनीतिक नियोगका व्यक्ति मुस्ताङको विभिन्न प्रकारका अध्ययन र उत्तरी नाकाको गतिविधिको जानकारी हाँसिल गर्ने गरेको पाइएको छ । कोरलानाकामा चीन सरकारले अत्याधुनिक क्षमताको सीसी क्यामेरा राखेको छ ।
लोमान्थाङस्थित इलाका प्रशासन कार्यालयका प्रमुख मुरारी निरौलाले चिनियाँ सुरक्षाकर्मी समन्वय गरेर आउजाउ गर्ने गरेका जानकारी दिए । ‘कोरला बोर्डरमा रहेका चिनियाा सुरक्षाकर्मीसँग असाध्यै राम्रो पार्टनरसीपको सम्बन्ध छ । उनीहरु नेपाली पक्षसँग साझेदारीका रुपमा काम गर्न चाहन्छन्’, उनले भने ।
उनका अनुसार नेपाली पक्ष चिनियाँ भूमिमा जान इलाका प्रशासनले अखनुमति दिने र चिनियाँ पक्ष नेपाल आउँदा चिनियाँ पक्षकै अनुमति आवश्यक पर्नेछ । उपल्लो मुस्ताङका धार्मिक गुम्बाहरु भारतीय सरकार र अमेरिकी संस्थाले बनाइदिएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बत भएकाले चीनविरोधी गतिविधि हुन सक्ने भन्दै चिनियाँ सुरक्षाकर्मीले कामको बहाना बनाएर लोमान्थाङ आउजाउ गर्ने गरेको पाइएको हो ।
इलाका प्रशासन प्रमुख निरौलाले चिनियाँ पक्षहरु सोलार मर्मत, नेपाली उत्पादन खरिद, प्रशासनिक काम र कुटनीतिक अध्ययन गर्न आउने गरेको बताए । चिनियाँ पक्षका सुरक्षाकर्मी जुनसुकै अवस्थामा कामको बहाना बनाएर नेपाल प्रवेश गरे पनि नेपाली पक्षलाई व्यापार मेलाबाहेक अन्य समय कुनै पनि अवस्थामा प्रवेश पाउने अवस्था छैन । अन्नपूर्णपोष्टबाट
तपाईको प्रतिक्रिया