चीनको हुवेइ प्रान्तको वुहान क्षेत्रमा गत डिसेम्बर ३१ मा पहिलोचोटी फेला परेको कोरोना भाइरसले आज विश्वलाई भयभीत, त्रसित र स्तब्ध बनाएको छ । कोरोना भाइरसको महामारीबाट सिंगो विश्वकै मानव समाज इतिहासकै सर्वाधिक कठिन मोडमा पुगेको छ ।
विश्वका धेरै देशमा अहिले लकडाउन गरिएको छ । नेपाल पनि चैत ११ घोषणा गरिएको लकडाउन अहिले जारी छ । विश्वका सबै मुलुक यो महामारीको संक्रममणबाट आक्रान्त छन् । विश्वका शक्तिशाली देशसमेत तहसनहस भएका छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँगै कोरोना भाइरस महामारीको त्रास विश्वभरि फैलिएको छ ।
कोरोना भाइरसले मानवजातिले आजसम्म गरेको प्रगति, अनुसन्धान विकास र प्रविधिलाई नै चुनौती दिएको छ । मानव सभ्यता र आधुनिक विज्ञानलाई नै कडा चुनौती दिएको छ । यो महामारीको कारणले विश्वको अर्थ राजनीति र विद्यमान शक्ति सन्तुलन नै खल्बलिने र नयाँ शक्ति सन्तुलन निर्माण हुने आंँकलन गर्न थालिएको छ ।
महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा प्रदेश २ सरकार पुरै उदासीन देखिएको छ । यस महासंकटको घडीमा आफ्नो मातहतको संरचनामार्फत अग्रभागमा रहेर तयारीको काम युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा प्रदेश २ सरकार अनुदानदाताको भूमिकामा मात्र सीमित छ ।
गाउँपालिका र नगरपालिका तथा संघ मातहतका जिल्ला प्रहरी कार्यालय, प्रहरी, जेललगायतका निकायलाई आफ्नो बजेट बाँड्ने तर आफू भने केही पनि देखिने काम नगर्ने प्रदेश सरकारको रवैया नितान्त गलत छ ।
भारतसँग रोटीबेटीको परस्पर सम्बन्ध एवं खुल्ला सीमाका कारण पनि अन्य प्रदेशको तुलनामा यो प्रदेश थप जोखिमयुक्त र विशेष संवेदनशील छ तर विडम्बना संघीय सरकारले उपलब्ध गराएको पीसीआर परीक्षण प्रविधिका अलावा हालसम्म प्रदेश सरकारले कोरोनाको संक्रमण परीक्षणका लागि आफ्नो तर्फबाट परीक्षणशालाहरू आरटी पीसीआर निर्माण गर्न त परै जाओस्, सामान्यतया यस क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइ कर्मचारीहरूलाई अहिलेसम्म गुणस्तरीय सुरक्षा सामग्री उपलब्ध भएको छैन ।
कोरोना नियन्त्रणका लागि प्रदेश २ सरकारबाट भइरहेका कार्य र प्रयास ठिक भएपनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । सरकारको कार्यान्वयन पक्ष फितलो मात्र छैन व्यवस्थापकीय कार्यक्षमता र कार्यशैली पनि सहि दिशामा छैन । प्रकोप संक्रमणको नियन्त्रण तथा रोकथामका लागि प्रयास भइरहेता पनि दुर्भाग्यवस प्रदेश २ मा प्रकोप फैलिन थालिएको छ ।
यो ज्यादै खतराको संकेत र गम्भीर चिन्ताको विषय हो । सकेसम्म यो परिस्थितिलाई आजको यही बिन्दुमै रोक्न प्रदेश २ सरकार र त्यहाँका जनताको सामूहिक र सार्थक प्रयास अत्यावश्यक छ ।
प्रकोप नियन्त्रण र राहत व्यवस्थापन कार्यमा प्रदेश र स्थानीय तहका सरकारहरूलाई थप र स्पष्ट जिम्मेवारी दिन तथा आवश्यक साधन श्रोत उपलब्ध गराउन जरूरी छ ।
स्थितिलाई अनियन्त्रित एवं विस्फोटक हुनबाट रोक्न सरकारले अविलम्ब परीक्षणको दायरालाई बढाउनु पर्छ । साथै आवश्यक दक्ष प्राविधिक जनशक्ति परिचालन गरेर परीक्षणको दायरा व्यापक तुल्याउन आवश्यक भएको छ ।
तपाईको प्रतिक्रिया