बाराका २२ वर्षे युवाको प्रतिभा : चराजस्तै मान्छे उड्ने यन्त्र र विद्युत उत्पादन गर्ने सपना

विज्ञान तथा प्रविधिको क्षेत्रमा नवीनतम खोज र अविष्कार गरेर देशको नाम विश्वभर चिनाउन चाहन्छु ।

फिचर

9/18/2018

काठमाडौं, ३१ भाद्र । तपाईंलाई चराजस्तै उड्न मन छ, छ भने तपाईँको आकांक्षा पूरा हुनसक्छ र त्यसलाई पूरा गर्नेछन् जलन्धर शर्माले । सानैदेखि विज्ञान तथा प्रविधिको खोजप्रति चासो राख्दै आएका बारा सिम्रौनगढ नगरपालिकाका २२ वर्षीय शर्माले अहिलेसम्म तीन वटा उपकरण बनाएर सबैलाई चकित पारिसकेका छन् । उनका सबै खोज मानव जीवनको दैनिकीसँग जोडिएको छ ।

मात्र दश कक्षासम्म अध्ययन गरेका शर्मालाई बच्चैदेखि केही न केही यन्त्र बनाउने चाहना थियो । सात कक्षामा पढ्दा उनले प्लास्टिकको बोटललाई काटकुट पारेर उड्ने हेलिकप्टर बनाएर आफ्नो प्रतिभाको परिचय दिए । तर उनको यो यात्रा कहिले नटुंगिने गरी जारी छ र अहिलेसम्म उनले तीन प्रकारको यन्त्र बनाएर विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालको उदीयमान वैज्ञानिक बनेका छन् । 

तर दुर्भाग्य, उनको प्रतिभालाई देशले चिन्नै सकेको छैन र उनी आफनो यन्त्रको प्रमाणिकताका लागि भौंतारिरहेका छन् । सन् २०१६ मा केही पत्रकारहरूको सहयोगमा सिम्रौनगढमा अनलाइन सप्लायर मेसिनको प्रदर्शन गरेर उनले आफनो प्रतिभाको मात्र प्रस्फुटन गरेनन्, अपितु यस्ता यन्त्र बनाएर मानव जीवनको दैनिकीलाई थप सहज बनाउने कला आफूभित्र निहित रहेको पनि परिचय दिए ।

तर उनको एउटै गुनासो छ, ‘राज्यले मेरो प्रतिभालाई बुझेन, चिनेन ।’ दयनीय आर्थिक अवस्थाका कारण दश कक्षासम्म मात्र अध्ययन गरेका शर्माका लागि यस्ता वैज्ञानिक यन्त्र बनाउनु सहज भने छैन । किनभने यन्त्र बनाउन चाहिने उपकरण किन्न पैसा नभएर उनले आफनो थुप्रै योजना थाँती राखेका छन् । सर्वत्र सहयोगको अपेक्षा राखेका उनी आशातीत सहयोग नपाएर निराश बनेका छन् तर उनको अठोट टुटेको छैन् । भन्छन्, ‘मैले आफ्नो लागिभन्दा देशको लागि केही गर्न खोजेको छु । विज्ञान तथा प्रविधिको क्षेत्रमा नवीनतम खोज र अविष्कार गरेर देशको नाम विश्वभर चिनाउन चाहन्छु ।’

मान्छेले चरा जस्तै उड्ने ‘हेली वर्ड’, ‘अटोमेटिक पावर सप्लाइ मेसिन’ र ‘अनलाइन पावर सप्लाइ’ आविष्कार गरेका छन् । उनले सुरूमा ‘अनलाइन पावर सप्लाइ’को अविष्कार गरे । यसको मुख्य काम ३ वटा हो भने चार वटा फाइदा छन् । मोवाइलको आउटपुटबाट त्यसलाई अन÷अफ गर्न मिल्छ । यो गर्न खर्च छैन, इन्टटरनेट पनि चाहिदैन ।

उनले बनाएको ‘हेली बर्ड’ ‘हेलिकप्टर’ र ‘बर्ड’ अर्थात हेलिकप्टर र चराको मिश्रित रूप हो । जसरी चरा पखेटाको माध्यमबाट उडेर एक ठाउँबाट अर्को ठाउँमा जान सक्छ, त्यसरी नै ‘हेली बर्ड’बाट मानिस उडेर जान सक्छ भन्ने परिकल्पनाको खोज हो उनको । उनकै शब्दमा यसको विकास भनेको हेलिकप्टरको विकल्प हो । यसबाट ७५ किलोसम्मको तौल भएको मानिस चरा जस्तै उडेर जहाँ पनि जान सक्छन् । यसको सबै नियन्त्रण उडान भर्ने मानिसकै हातमा हुन्छ । जस्तो– कति उचाईमा जाने, कुन दिशामा जाने आदि आदि ।

तर दुर्भाग्य, उनको यस्तो सुन्दर परिकल्पनाको बाधक उनको कमजोर आर्थिक अवस्था बनेको छ । आर्थिक स्थितिकै कारणले यो काम रोकिएको छ । तर पनि ३ महिना पछि यसको प्रदर्शन गर्ने तयारीमा उनी जुटेका छन् । उनका अनुसार ‘हेली बर्ड’ बनाउन सुरूमा करिब ८ देखि १० लाखसम्म खर्च पर्छ तर सरकारले यसलाई विस्तार ग¥यो भने मात्र साढे दुईदेखि ३ लाखसम्ममा बनाउन सकिन्छ । ‘हेली बर्ड’ले एक मिनेटमा करिब ४ देखि ५ किलोमिटरको दूरी तय गर्छ । यसका लागि यसमा अनलाइन म्यापबाट ठाउँ पत्ता लगाउन सकिन्छ । यसलाई अवतरण गर्न विमानस्थल पनि चाहिदैन । घरको छतमा अवतरण गर्दा हुन्छ ।

मानौं, तपाईंलाई काठमाडौंबाट जनकपुर जानु प¥यो भने ‘हेली बर्ड’को माध्यमबाट मात्र २० मिनेटमा यात्रा तय गर्न सकिन्छ । शर्माका अनुसार यो ‘हेली बर्ड’को तौल करिब ३ सय किलोको हुन्छ र मान्छेसहित यसले थप १२५ किलोसम्मको भार बोक्न सक्छ ।

उनको अविष्कार यतिमै सीमित हुँदैन । ‘अटोमेटिक पावर मेसिन’ पनि उनले बनाएका छन् जुन अहिले विश्वमै छैन । यसलाई एक पटक स्टार्ट गरे पछि बिना इन्धन ५ वर्षसम्म विजुली उत्पादन गर्नसक्छ । यसको क्षमता हजार वाटदेखि सय किलो वाटसम्मको हुन्छ । यो मेसिनको प्रयोगबाट घर, कार्यालय, उद्योगमा विजुली बाल्न मिल्छ, त्यो पनि बिना इन्धन । यदि तपाईंले यो मेसिनको प्रयोग गर्नुभयो भने नेपाल सरकारबाट बिजुली किनिरहनु पर्दैन । ‘यो मेरो चुनौती हो, यसको उपयोगबाट बत्तिको पैसा तिर्नु पर्दैन, उद्योग चलाउन सकिन्छ’, उनी भन्छन् ।

तर सबै कुरा आएर अर्थमै ठोकिन्छ । आर्थिक कमजोरीका कारण यो उपकरणको ब्यापक प्रचारप्रचार गर्न पाएका छैनन् उनले । तर सरकारले सहयोग नगरे पनि आफनो लक्ष्यमा पुग्ने उनको दृढता छ ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका केही अधिकारीहरू उनले समक्ष आफ्नो खोज र आविष्कारका बारेमा जानकारी गराउँदा उनलाई प्रलोभन नआएको होइन । १० करोड रूपैया दिने शर्तमा उनलाई नेपालको नागरिकता रद्द गरी भारतको नागरिक बन्नु पर्ने ‘अफर’ पनि आएको थियो तर देशको लागि केही गर्छु र देशकै नाम चम्काउँछु भन्ने लक्ष्य लिएका शर्माले राष्ट्रियताका लागि आफनो इमान बेचेनन् ।

‘म नेपालको छोरा हुँ, देशको लागि केही गर्न खोजेकाले उनीहरूको प्रस्ताव मनासिव नलागेर अस्वीकार गरे’ं, उनी भन्छन् । तर उनको एउटा मात्र गुनासो छ–मेरो प्रतिभालाई नेपालले अहिलेसम्म चिनेको नभए पनि भारतले किन्न खोज्यो । 

हालै उनी सूचना तथा प्रविधिमन्त्रीसँग भेट गरी आफनो अविष्कारका बारेमा जानकारी गराएका छन् । मन्त्रीबाट आश्वासन पाएका उनी अहिले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको सम्पर्कमा पनि छन् ।

राज्यले एक होनहार मधेशी युवाको प्रतिभा र क्षमतालाई बुझ्न सक्यो भने निश्चित रूपमा देशले विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ नयाँ अविष्कार गर्न सक्छ । यसले विश्वस्तरमा नेपालका प्रतिभाको कदर मात्र होइन नेपालको नाम पनि उज्वल हुन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ