काठमाडौं, २५ फागुन । भारत सरकारको आर्थिक सहयोगमा मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउने सहमति भएको छ ।
बुधबार संघीय राजधानी काठमाडौंमा आयोजित एक समारोहका बीच भारतीय राजदूतावास, काठमाडौं र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
भारत सरकारको नेरु २ करोड ४ लाख ९० हजार अनुदान सहयोगमा मधेश प्रदेशका तीन जिल्लामा ३००० वटा एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री नेपाल–भारत महिला मैत्री समाजमार्फत उपलब्ध गराइने सहमति भएको छ ।
यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादी का अमृत महोत्सव” अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो ।
दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एल.पी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्न हेतु भारत सरकारले ल्याएको “प्रधानमन्त्री उज्ज्वला योजना” बाट यो योजना प्रेरित रहेको जनाइएको छ ।
सो कार्यक्रममा नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले पिछडिएका घरपरिवारलाई सो सामग्री उपलब्ध गराइएपछि विभिन्न जोखिमहरुबाट जोगिन मद्दत पुग्ने धारणा राखेकी थिइन् ।
उनले सप्तरी जिल्लाको एउटा घटना सुनाउँदै भनिन्, ‘सप्तरीमा एक महिला पराल वा दाउराले खाना पकाउँदा सोबाट आगलागी हुँदा एक दुधे बालकको भएको अकाल मृत्युले मेरो मन अति दुःखित भयो । त्यसपछि मैले ग्रामीण भेगका पिछडिएका महिलाका लागि ग्यास चुल्हो र सिलिण्डरको व्यवस्था गर्ने योजना बनाएँ ।’
यसैगरी, दूतावासकी नियोग उपप्रमुख नामग्य सी.खम्पाले नेपालको आर्थिक सहयोगमा भारत सरकार सदैव अग्रसर रहेको बताएइन् । उनले भारतको यस्तै सहयोगहरु आगामी दिनमा पनि गरिरहने बताएकी थिइन् ।
यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी उमा रेग्मीले भारत सरकारको सो सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् ।
उनले महिलालाई आत्मनिर्भर बनाउन शीपमूलक कार्यक्रमहरु ल्याउनुपर्ने धारणा राखेकी थिइन् ।
सो सहमतिपत्रमा नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष चौधरी र दूतावासका प्रथम सचिव करुण वंशलले हस्ताक्षर गरेका छन् ।
सन् २००३ यता भारतले नेपालमा स्वस्थ्य, शिक्षा, खानेपानी तथा सिँचाइ, विद्युतीकरण आदिका क्षेत्रमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सर्लाहीका १९, रौतहटका ५ र सप्तरीका ९ गरी मधेस प्रदेशमा ८१ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले यी तीन जिल्लामा हालसम्म ८७ वटा एम्बुलेन्स र तीनवटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस योजनाको कार्यान्वयनले जनताको जीवनस्तरलाई उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।
तपाईको प्रतिक्रिया