काठमाडौं, ७ साउन । छिमेकी मित्रराष्ट्र भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ ।
नेपाली जनकल्याण समितिको आयोजनामा पश्चिम बङ्गालको हावडास्थित सरत सदनमा यहाँका नेपालीभाषीले शनिबार विशेष कार्यक्रम आयोजना गरेका थिए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि र पश्चिम बङ्गाल सरकारका सहकारीमन्त्री अरुप राय विशेष अतिथिका रूपमा उपस्थित थिए ।
कुलपति राईले आफूले सानो हुँदा कथाका रूपमा सुनेको कोलकातामा भानुभक्तको यस प्रकारको महत्त्व र गतिविधि देखेर खुसी लागेको बताए । उनले प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रममा सहकार्य विस्तार गरी नेपाली रहेका स्थानमा नेपालको साहित्यप्रतिको रुचिबारे समाजशास्त्रीय अध्ययनमा ध्यान दिने जनाए ।
प्रदेश मन्त्री रायले भानुभक्तका नाममा हावडामा सडकमार्ग नामकरणको निर्णय भइसकेको र भानुभक्तको प्रतिमा निर्माणका लागि पनि सघाउन तयार रहेकोे जानकारी दिए । भानुभक्तको तस्बिरमा श्रद्धाञ्जलि दिएर सुरु भएको कार्यक्रममा प्राज्ञ परिषद् सदस्य डा मधुसुदन गिरी नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कर्णप्रसाद तिमल्सिना, जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बराल, प्राध्यापक डा सत्यप्रकाश तिवारी, प्रवासी नेपाली सङ्घ भारतका अध्यक्ष नारायणप्रसाद होमागाईँलगायतले आदिकविको व्यक्तित्व र कृतित्व देश–विदेशमा रहेका नेपालीमाझ फैलिएको र आदिकविका कारण नेपालीबीच साहित्यिक एकताको मार्ग बनेको उल्लेख गरेका थिए ।
सो अवसरमा साहित्यका योगदानका लागि कुलपति राईलाई समितिले अभिनन्दन गरेको थियोे भने समितिको प्रकाशन ‘बिहानी’को २४औँ अङ्कको विमोचन गरिएको थियोे ।
कविहरु धर्मराज बराल, मोहनकुमार सिंह, सञ्जीव गुरुङ, रामबहादुर कार्कीलगायतले भानुभक्तको रामायणसहित आफ्ना रचना वाचन गरेका थिए ।
तपाईको प्रतिक्रिया