बर्दियाका किसानहरुको चिन्ता “आकाश हेर्दै असार बित्यो, साउनमा पनि शुभ संकेत छैन“

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, ८ साउन । असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिनु पर्ने बर्दियाका धेरैजसो खेत यस बर्ष पर्यााप्त वर्षा नभएका कारण बाँझै छन् ।

रोपाइ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा फाटेका छन् भने रोपेको धान बीउसमेत मर्न लागेको किसानहरुले बताएका छन् ।

‘पोहरपरार यतिबेलासम्म सबै खेत रोपेर सकिन्थ्यो तर यसपाली भने आकाश हेरेर असार बित्यो, साउन पनि बित्ला जस्तो छ । कुनै शुभ संकेत छैन । बर्षा नहुँदा रोपाइ हुन सकेन,’ गुलरिया नपा–७ का सम्सेर यादवले भने, ‘पानी पर्ला भनेर नपकाईकन खेतमा लागाएको बसन्ते मकै थन्कायौं, रोपाईको तयारीका लागि खेतका गह्रा खाली गरिए तर बर्षा नहुँदा साउनको पहिलो सातासम्म पनि खेत बाँझै छन् ।’

बाँसगढी नपा–७ डेउडाकलाका टिकाराम भट्टराईले पोहोर सालको तुलनामा अहिले पानी नपरेका कारण सबै खेत बाँझो रहेको बताए । ‘बीउ बुढिएर रोप्नै नमिल्ने भइसक्यो यस पटक धान उत्पादन नै मुस्किल हुने भयो,’ उनले भने ।

उनीहरु जस्तै जिल्लाका धेरै किसानले बर्षा नभएका कारण रोपाइँ गर्न पाएका छैनन् । किसान आकाशतिर हेर्दै भगवान पुकारेर पानी मागिरहेका छन् तर पानी नपरेका कारण कतिपय ठाउँमा रोपाइँ भएको छैन रोपाइँ भएका ठाउँमा पनि खेत चिराचिरा परेर फाटेको छ र रोपेको धान मर्न लागेको किसानहरुले बताएका छन् ।

‘गाउँलेहरुले पानी देउ भगवान भनेर भजनकिर्तन गर्न थालेका छन्, तर पानी परेको छैन,’ ठाकुरबाबा नगरपालिका – ५ का महेन्द्र चौधरीले भने, “न समयमा मलबीउ पाइन्छ, न बर्षा हुन्छ । यसपटक धान उत्पादन राम्रो हुने लक्ष्ण छैन ।’

कुलो र नहरको सुबिधा भएको खोला तथा नदि टटिय क्षेत्र र खोल्साको छेउछाउमा रहेको खेतमा रोपाइ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाई हुन सकेको छैन ।

बर्षा भएको बेला भल छोपेर रोप्ने तथा बोरिङको पानी जम्मा पारेर जसोतसो रोपिएका खेत पनि सिचाइ समस्यामा पटपटि फुटेका किसानहरुले बताएका छन् ।

आकाशे पानीको भरमा रोप्नु पर्ने ठाउँमा रोपाई नै भएको छैन । बोरिङको पानी जम्मा पारेर रोपेको खेतमा सिचाइ गर्ने पानी नपुग्दा रोपेको खेत पनि पटपटि फुटेको छ । राजापुर नपा – ५ भिमापुरका पहाडी थारु भन्छन्, ‘झमझम पानी पर्ने समयमा दिनभरी टनटलापुर घाम लाग्छ । चर्को घामकै कारण अलि अलि रसाउल लागेको कुलो पनि सुकिसके, पानी पर्ने लक्ष्ण छैन । के गरि रोपाई गर्ने हो ? अब बर्षा भएछ भने पनि साउनमा रोपेको धान राम्रो फल्ने छैन ।’

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालका अनुसार ५० हजार २ सय हेक्टरमा धान खेती हुने बर्दियामा आजसम्म जिल्लामा ८० प्रतिशात रोपाई पूरा भएको छ ।

धान उत्पादनको राम्रो क्षेत्र मानिएको बर्दिया जिल्लाका ८ वटै पालिकामा पानी अभावका कारण ६० देखि ८० प्रतिशत जति रोपाई भएको सूचना स्थानीय तहका प्राबिधिकले दिएको उनको भनाई छ ।

थोपा थोपा संगालेर रोपेको ठाउँमा पनि सिचाई नहुँदा खेतका गह्रा चर्किएका किसानहरुले बताएका छन् । काम सकेर फुर्सदिलो हुने समयमा किसान काम नै रोपाई गर्न नपाएर पिरोलिएर बसेका छन् ।

प्रमुख खाद्य बाली नै धान भएकाले वर्ष दिन खानु पर्ने अन्नका अभावमा अबको वर्ष बित्ने हो कि भन्ने चिन्ता उनीहरुलाई लागेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ