कमल राज पौडेल देवकमल, बर्दिया, ९ साउन । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले जिल्ला भित्रका ८ वटै पालिकालाई गाई भैंसीमा देखा परेको लम्पी स्कीन रोग विरुद्धको भ्याक्सिन हस्तान्तरण गरेको छ ।
गर्मीयाम सुरु भएलगतै देशभरि लम्पी स्कीन रोगको प्रकोप फैलिएको छ । यो रोग झिगा भुसुना लामखुट्टे किर्नाको टोकाईबाट सर्ने रोग हो । यो रोग लागेका गाई भैसीको छालामा साह्रो गिर्खा देखिने र उच्च ज्वरो आउने गर्दछ ।
यो रोग बर्दिया जिल्लाभित्र पनि देखिएको र यसबाट ५ सयभन्दा अधिक गाई भैंसी संक्रमित भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका पशु चिकित्सक अनिल शर्माले जानकारी दिए ।
‘यो रोगबाट भयावह स्थिति उत्पन्न नहोस् भनेर हामीले जिल्लाका ८ वटै पालिकामा आफ्नो पशु स्वास्थ प्राबिधिकहरुलाई परिचालन गरि भ्याक्सिनेसन कार्यक्रम संचालन गरेका छौ र त्यसका साथ साथै पालिकाको पशु सेवा शाखाहरुलाई यो अभियानमा जोड्ने उद्देश्यले पालिकालाई भ्याक्सिन हस्तान्तरण गरेका हौं,’ उनले भने ।

संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्य भयो भने लम्पी स्कीन रोग व्यवस्थापन गर्न अझ सहज हुने एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यलय प्रमुख सागर ढकालले बताए ।
बर्दियाका प्रत्येक पालिकामा पशु संख्या १० हजारभन्दा अधिक रहेको र भ्याक्सिनको संख्या कम भएकोले पालिका प्रमुखहरुले भ्याक्सिन डोज कम छ भन्दै थप डोज छिटै उपलब्ध गराउन एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयलाई आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया