प्रभु साहमाथि लगाएको आरोप प्रमाणित गर्न आजपाको चुनौती

समाचार

काठमाडौं, १० साउन । सत्तारुढ दलहरुले प्रभु साहमाथि लगाएको आरोप प्रमाणित गर्न आम जनता पार्टीले खुल्ला चुनौती दिएको छ ।

आजपाका प्रवक्ता चन्द्रभुषण साहले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘हाम्रो पार्टीका अध्यक्ष तथा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद मा. प्रभु साहको नाम जोडेर सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माके), एकीकृत समाजवादी, जसपा, जनमत र लोसपा गरी ६ दलले संयुक्तरुपमा गरेको प्रदर्शन र सो विषयसँग जोडिएर विभिन्न सञ्चार माध्यमहरुमा आएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

आम जनताको कुनै हक अधिकार वा पीडितहरुलाई न्याय दिलाउन एकजुट हुनुको सट्टा आज एकाएक विगत १७ वर्षदेखी अनवरत न्यायको पर्खाईमा रहेका बीभत्स गौर हत्याकाण्डका पीडितहरुले न्याय पाउने सम्भावना बढेसंगैं हत्याकाण्डका अपराधी र तीनका संरक्षकहरु आतंकीत भई हताश मनोविज्ञानका साथ यसरी संगठित हुनुले पनि काफी कुराको संकेत गरिरहेको प्रवक्ता साहले भनेका छन् ।

‘सर्वोच्च अदालतसहित देशका तिनै तहको न्यायालयबाट न्याय निरुपण हुँदा कहीँकतै प्रभु साहको नामनिशान समेत नआएको विषयमा पूर्वाग्रही भई कपोकल्पित, आधारहिन र झुठा आरोप लगाएर अदालतको मानहानी समेत हुनेगरी कुनै लोकप्रिय जनप्रतिनिधीको यसरी चरित्र हत्याको दुष्प्रयास गरिनु नितान्त खेद एवं घोर भर्तस्ना योग्य विषय हो ।’, उनले विज्ञप्तिमा भनेका छन् ।

यदि सत्तारुढ गठबन्धनले लगाएको आरोपमा थोरैपनि सत्यता छ भने यसलाई प्रमाणित गर्न आम जनता पार्टी खुल्ला चुनौती दिएको छ ।

प्रवक्ता साहले विज्ञप्तिमा भनेका छन्, ‘यसरी पीडितहरुलाई अनन्तकालसम्म पीडित बनाइराख्ने सत्ताको उन्मादपूर्ण दुष्प्रयासलाई तुरुन्त बन्द गरी सार्वजनिक रुपमा माफी माग्दै गौर हत्याकाण्डका अपराधीहरुलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन मार्गप्रशस्त गरी सहयोग गर्न सम्बन्धित सबै पक्षहरुसंग जोडदार माग समेत गर्दछौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ