मधेश प्रदेशलाई शिक्षाको हब बनाउनुपर्छ : मुख्यमन्त्री

समाचार

जनकपुरधाम, १८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशलाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिएका छन् ।

सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसारको उपलब्धि प्राप्त नगरेको भन्दै उपलब्धि दिने किसिमले अगामी दिनमा कामकाज गर्न शिक्षा क्षेत्रका कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले काम गर्नेलाई सम्मान र नगर्नेलाई सजाय भन्ने अवधारणाका साथ सरकारले अगामी दिनमा कदम चाल्ने प्रस्ट पारेका छन् ।

शिक्षा तथा समाज कल्याण मन्त्रालय तथा निकायको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मधेश प्रदेशलाई शिक्षाको हब बनाउनु पर्ने भन्दै मधेशको शिक्षाको अवस्थामा सुधारका लागि देखिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । उनले शिक्षाको साथै खेलकुदलाई प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाइरहेको भन्दै प्रदेशको आठ वटै जिल्लामा रङ्गशाला निमार्णका लागि कामकाज अघि बढेको जानकारी दिए ।

उनले शिक्षा क्षेत्रमा सुधारका लागि प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयबाट छुटाएर छुट्टै शिक्षा तथा समाज कल्याण मन्त्रालय बनाएको बताए ।

उनले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाका लागि प्रदेश सरकारले कामकाजलाई अगाडि बढाएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामका लागि घोषणा गरेको एक सय करोड जनकपुरधाममा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा खर्चिने उनको भनाइ छ ।

कार्यक्रममा शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवले शिक्षा क्षेत्रको सुधारका लागि सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षामा सुधारका लागि सबैले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए । उनले आफ्नो दायित्व निर्वाह नगर्नेलाई छुट नहुने भन्दै शिक्षा कार्यक्रम कार्यान्वयनको क्रममा देखिएका समस्या समाधानका लागि मन्त्रालय तयार भएको बताए ।

कार्यक्रममा मधेश प्रदेशका प्रमुख सचिव किशोर चौधरीले यस प्रकारको समीक्षाले समस्या र चुनौतीको पहिचान हुने र अगामी दिनमा यसको समाधान गरी अघि बढ्न कर्मचारीलाई आग्रह गरे । उनले योजना बनाएर वार्षिक कार्यक्रमको कार्यान्वयन गर्न आग्रह गर्दै कार्यान्वयनको क्रममा नीतिगतरुपमा कुनै समस्या आएमा समयमै जानकारी गराउन कर्मचारीलाई निर्देशन दिए ।

शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा कृषि विश्वविद्यालय मधेश प्रदेशका उपकुलपति डा. वैद्यनाथ महतो, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामभरोस कापरीसहितकाले आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ