रुपन्देही, १९ साउन । बुटवलमा आज शुक्रबारदेखि दुईदिने धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुन लागेको छ ।
धर्म र जीवनसँग जोडिएका विषयमा पण्डित र ज्योतिषलाई यथेष्ट जानकारी गराउने उद्देश्यसहित सम्मेलन हुन लागेको हो ।
विश्व ज्योतिषी महासंघ लुम्बिनी प्रदेशले आयोजना गरेको सम्मेलनमा नेपाल र भारतका गरी पाँच सय भन्दा बढीको सहभागिता रहने छ ।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपानेले सनातन धर्म पद्धतिअनुसार आशौच परिचय र निर्णयहरू बुझ्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्मेलन महत्वपूर्णसावित हुने बताए ।
सम्मेलनमा तीनवटा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनको पहिलो दिन धर्मशास्त्र विशेषज्ञ प्रा.डा.देवमणि भट्टराईले अशौच परिचय र निर्णयहरू विषयक कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
दोस्रो दिन ज्योतिष शास्त्रमा वैदेशिक यात्राका विषयमा उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, प्रशिक्षण वास्तु तथा जीवनमा डा.माधवमंगल जोशीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
सम्मेलनमा स्वामिनारायण मुक्तिनाथधामका प्रमुख संरक्षक स्वामी लोकानन्दले आर्शिवचन दिनुहुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया