विराटनगर, १९ साउन । विराटनगर महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणका लागि डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको छ ।
कार्यवाहक मेयर शिल्पा निराला कार्कीको उपस्थितिमा वडा नम्बर १ बाट अभियान सुरु गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।
१९ वटै वडाबाट बिहान ७ देखि ९ बजेसम्म खोज्ने र नष्ट गर्ने अभियान एकै साथ सञ्चालन गर्ने तयारी भए पनि प्रतिकूल मौसमका कारण केही वडामा मात्रै अभियान सञ्चालन गरिएको अलीले बताए ।
प्रतिकूल मौसमका बाबजुद पनि जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्रमा डेंगुको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो ।
टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको कार्यवाहक मेयर कार्कीले बताइन् ।
खोज र नष्ट गर अभियानमा स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, वातावरण तथा सरसफाई शाखा प्रमुख पुनम दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी छेदीलाल कामतसहित कर्मचारी, स्वास्थ्य स्वयंसेविका, प्रहरीलगायतको सहभागिता रहेको थियो ।
धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि महानगरले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणको अभियानलाई तीव्रता दिएको छ ।
यसअघि महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सफाइ शाखाका कर्मचारीसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन समेत गरेको थियो ।
तपाईको प्रतिक्रिया