नेपालगन्ज, २२ साउन । बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि विद्यालयमै पुगेर औषधि वितरण सुरु गरिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले आफ्नो कार्यक्षेत्रमा रहेका विद्यालयहरूमा पुगेर बालबालिकालाई आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को औषधि वितरण गरिरहेको छ ।
खजुरा गाउँपालिकाको शिक्षा शाखा र स्वास्थ्य शाखाले संयुक्त रूपमा वडा नम्बर २, ३, ४, ५ र ६ का विभिन्न विद्यालयमा पुगेर आँखा पाक्ने रोगको औषधि वितरण गरेको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकका अनुसार विद्यालयमा अध्ययनरत धेरै बालबालिकामा आँखा पाक्ने सङ्क्रमण फैलिएको जानकारी आएपछि स्वास्थ्य शाखाले औषधि वितरण सुरु गरेको हो ।
यस्तै, कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखाले नगरभित्रका विभिन्न विद्यालयमा पुगेर आँखा पाक्ने रोगको औषधी वितरण गरेको जनाइएको छ ।
विद्यालयका बालबालिकालाई सो रोगबाट जोगिने उपायहरूको जानकारी गराउनुका साथै सङ्क्रमण भइसकेपछि केके गर्नु पर्छ र केके गर्नु हुँदैन सो बारेमा पनि जानकारी गराइएको पालिकाले जनाएका छन् ।
तपाईको प्रतिक्रिया