बाढीले बगाउँदा सर्लाहीमा दुई जनाको मृत्यु

समाचार

सर्लाही, २४ साउन । भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा सर्लाहीमा दुई जनाको मृत्यु भएको छ भने मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।

सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको हो । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो ।

त्यस्तै, सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो ।

बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ ।

यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मङ्लगबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए ।

बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।

त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ