बर्दियाको गुलरिया र ठाकुरबाबा नगरपालिका डुबानमा

समाचार

बर्दिया, २४ साउन । जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिका डुबानमा परेको छ । लगातारको वर्षाका कारण दुवै पालिकाका एक सय ३१ घर डुबानमा परेका छन् ।

गुलरियाको भादा नदीमा आएको बाढी तथा ठाकुरबाबा बर्दिया निकुञ्जभित्रबाट आएको बाढीले घरहरू डुबानमा परेको हो ।

बाढीका कारण गुलरियाका वडा नम्बर ५ र ठाकुरबाबाका २, ६, ७ र ८ नम्बर वडाहरू बढी प्रभावित भएको छ ।

बाढीले मानवीय र ठूलो भौतिक क्षति नगरे पनि केही घरहरूमा पानी पसेको छ । सबैभन्दा धेरै डुबानले ठाकुरबाबाका चार वडालाई प्रभावित बनाएको छ ।

गुलरियामा १२ घर र ठाकुरबाबामा एक सय १९ घर डुबानमा परेका छन् । मंगलबार बिहान बबई र भादा नदीले सतर्कताको तह पार गरे पनि अपराह्न पछि भने बाढीको तह घट्दै गएको तर फेरि मङ्गबार रातिको भीषण बर्षाले पुन नदीको सतह बढ्दै गएको हो ।

भादा नदीको टापुमा फसेका ९५ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । भादा नदीमा बाढीको सतह बढेपछि टापुमा रहेका उनीहरू फसेका थिए ।

ठाकुरबाबाका मोहनपुर, भुडकैया, सुन्दर बस्ती, ठाकुरबाबा लगायतका गाउँ डुबानमा परेका थिए । घरमा पानी पसेपछि उद्धारको लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीलाई रबर बोटसहित परिचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ