सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ पक्राउ

समाचार

काठमाडौं, २६ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

चीन जान लागेको अवस्थामा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए।

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीर्आइबी) को जिम्मा लगाइएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ।

यससँगै यो प्रकरणमा पक्राउ पर्ने चिनियाँ नागरिकको संख्या मात्र ३ पुगेको छ। यसअघि साउन ४ गते चीन जान लागेको अवस्थामा चिनियाँ नागरिक लिङ चुवान पनि विमानस्थलबाटै पक्राउ परेका थिए।

चिनियाँ, भारतीय र नेपालीसहित प्रकरणमा पक्राउ पर्नेहरूको संख्या २२ पुगेको छ। पक्राउ पर्नेहरूमा विमानस्थल भन्सारका कर्मचारीसमेत छन्। पक्राउ परेका एक जना भने हाजिर जमानीमा छुटेका थिए।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट तस्करीको एक क्विन्टल सुन बरामद भएको थियो।

सुरूमा राजस्व अनुसन्धान विभागले अभियुक्तहरूलाई पक्राउ गरेर अनुसन्धान गरेको यो प्रकरणमा साउन २१ मा थप अनुसन्धानको जिम्मा सीआईबीलाई सुम्पिएको थियो।

यो अन्तरदेशीय संगठित अपराध रहेको भन्दै विभागले सीआईबीलाई थप अनुसन्धानका लागि पक्राउ अभियुक्त र अनुसन्धान फाइल बुझाएको थियो।

साउन २२ देखि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिहं थापालाई अनुसन्धान अधिकृत तोकेर सीआईबीले थप अनुसन्धान गरिरहेको छ।  – पर्दाफास डटकमबाट साभार

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ