काठमाडौं, ३० साउन । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७७ औं स्वतन्त्रता दिवस मनाइएको छ ।
यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’ कै एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै सो समारोहको शुभारम्भ भएको थियो । राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिएका छन् ।
तत्पश्चात कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
राष्ट्रपतिले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरुले गरेका बलिदानको स्मरण गरेकी थिइन् र देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरुबारे चर्चा गरिन् ।
राष्ट्रपतिले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको बताइन् । साथै उनले विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवद्र्धन गर्न भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन् । उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी–२० को अध्यक्षताबारे उल्लेख गरिन् ।
दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु. ५.३३ करोड रकम वितरण गरी सम्मान गरेको छ ।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरे ।
कार्यक्रम दूतावासको फेसबुक तथा युट्युब पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।
तपाईको प्रतिक्रिया