जनकपुरधाम, ३२ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले चित्तबुझ्दो बजेट ल्याउन नसकिएको स्वीकार गरेका छन् ।
मन्त्री महतले आर्थिक स्रोत पर्याप्तमात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेशसहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्तमात्रामा बजेट विनियोजन गर्न नसकिएको बताएका हुन् ।
उनले भने, “आर्थिक स्रोतको पर्याप्तताको अभावमा यसपालि सबैका लागि चित्तबुझ्दो बजेट ल्याउन सकिएन, यसलाई कुनै क्षेत्र या भूगोलका मानिसले विभेदका रूपमा लिनु हुँदैन, यो मेरो आग्रह पनि हो । कांग्रेस प्रवक्ता डा महत नेपाली कांग्रेस सिरहाको सम्मेलनमा सहभागी हुन बिहीबार यहाँ आउनुभएको हो ।”
नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा (एमाले) ले अनावश्यकरूपमा बखेडा झिकेर संसद् अवरूद्ध गरेको बताए ।
नेपाली कांग्रेसका प्रवक्ता डा. महतले प्रतिपक्ष दलले सरकारलाई बाटो देखाउन र सिर्जनात्मक कामका लागि विरोध गर्ने अधिकार राख्ने भए पनि नेपाली जनताको आवाज प्रतिनिधित्व गर्ने थलो संसद्लाई गतिहीन बनाउने अधिकार कसैलाई नभएको जिकिर गरे ।
तपाईको प्रतिक्रिया