दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका तयार

समाचार

नेपालगन्ज, ३२ साउन । नेपालगन्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय जना स्वयंसेवकलाई विपदका बेला खटाउन विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० को मस्यौदा तयार पारेको हो ।

भूकम्प लगायतका विपद्को सबैभन्दा बढी जोखिममा रहेका वडा नम्बर ३ र ७ का स्थानीय, केही छिमेकी वडाका स्थानीय, नगर प्रहरी, दमकल कर्मचारी लगायत ४०३ जनालाई दक्ष बनाइएको छ ।

खोज तथा उद्धारका ४, आगलागी नियन्त्रण सम्बन्धि ५ र प्राथमिक उपचारका ५ गरी १४ वटा तालिम सञ्चालन गरेर चार सय दक्ष स्वयंसेवक उत्पादन गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० माथि छलफल गरिएको छ ।

सरोकारवालासँग गरिएको छलफलमा नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगीले नगरस्तरीय स्वयंसेवक ब्युरो गठन र सञ्चालन सम्बन्धि व्यवस्था, वडा र समुदायस्तरमा स्वयंसेवक समिति गठन र परिचालन, स्वयंसेवकको काम र कर्तव्य, स्वयंसेवकको बीमा र सुरक्षा लगायत निर्देशिकामा भएको व्यवस्था र कार्यविधिबारे जानकारी गराएका थिए ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रशान्त विष्टले विपद प्रतिकार्यको पूर्व तयारी स्वरूप दक्ष स्वयंसेवक उत्पादन गरी उचित परिचालनका लागि निर्देशिकालाई अन्तिम रूप दिन लागिएको बताए ।

भूकम्प, आगलागी, महामारी, डुबान लगायत सबैखाले विपद व्यवस्थापनका लागि थुप्रै प्रयासहरू गरिएको नगर प्रमुख विष्टको भनाई छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ