गाई–गोरु हत्या गर्नु संविधान विपरित कार्य : मधेशी आयोग

समाचार

काठमाडौं, १० भाद्र । गाई–गोरु हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारवाही गर्न मधेशी आयोगले सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानकर्षण गराएको छ ।

आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाई÷गोरुलाई हत्या गरी सार्वजनिक रुपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरित रहेको बताउँदै दोषीलाई तुरुन्त कानुनी कारवाही गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानकर्षण गराएको छ ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात–जाति तथा धर्मका मान्छेहरुले सम्मान गर्नुपर्ने समेत बताएको छ ।

आयोगले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरित कार्य गर्ने जो–कोहिलाई पनि यथाशिघ्र कारवाही गर्नुपर्ने कुरा माथि जोड दिएको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सुनसरी घटनालाई आयोगले गम्भीरतापूर्वक हेरिरहेको र सो घटनाको दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले आवश्यक पहल गर्ने समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ