अपाङ्गता तथा फरक क्षमता भएकालाई ट्राई साइकल वितरण

समाचार

बाँके, १० भाद । बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगन्जमा ट्राई साइकल (तीन पाङ्ग्रे हाते साइकल) वितरण गरेको छ ।

कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तर्गत आइतबार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राई साइकल वितरण गरेको हो ।

सो परियोजना अन्तरगत जिल्लाका ३० जना अपाङ्गता तथा फरक क्षमता भएका महिला र पुरुषलाई ट्राई साइकल वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री मोहम्मद इश्तियाक राई, क्लबका प्रमुख संरक्षक प्रबेजअलि सिद्दिकी र अध्यक्ष तुलाधरले संयुक्त रुपमा अपाङ्गता तथा फरक क्षमता भएकाहरूलाई हाते साइकल हस्तान्तरण गरे ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका अपाङ्गता तथा फरक क्षमता भएका महिला पुरुषको छनोट गरेर ट्राई साइकल सहयोग गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ