काठमाडौं, १३ भाद्र । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी विधानको धारा १३७ बमोजिम एक व्यक्ति एक समितिको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबैलाई जिम्मेवारी व्यवस्थापन गरिने बताएका छन् ।
उनले आफ्नो पार्टीले परम्परागत पुराना दलहरूले भन्दा भिन्न राजनीतिक सिद्धान्तको रूपमा बहुलताायुक्त नेपाली समाज सुहाउँदो सिद्धान्त संघीय समाजवाद मात्र अङ्गीकार गरेको नभई लोकतान्त्रिक अकेन्द्रिकरणको संगठनात्मक सिद्धान्त समेत अपनाएको बताए ।
लोकतान्त्रिक अकेन्द्रिकरणको संगठनात्मक सिद्धान्तले पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यहरूमा निहित गर्दै पार्टीका प्रदेश संरचनाहरूलाई आफ्नो क्षेत्राधिकारभित्रका कामहरू आफै निर्णय गर्न सक्ने व्यवस्था विधानले नै गरेको उनले बताए ।
का.वा. अध्यक्ष श्रेष्ठले हाल सञ्चालित तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको दुई मुख्य कार्यभार पार्टीलाई वैचारिक र राजनीतिक रूपले सक्षम बनाउनु तथा पार्टीका प्रदेश समिति र राष्ट्रिय समितिहरूलाई विधानले तोकेबमोजीमको पदाधिकारी र संख्यामा सीमित गरी गठन पुनर्गठन गर्नु रहेको बताए ।
उनले जिल्ला समन्वय समितिहरूलाई पनि यथासिघ्र जिल्ला तदर्थ समितिमा रूपान्तरण गर्नुपर्ने बतााउँदै स्थानीय तहका सबै समितिहरूलाई व्यवस्थित गर्नुपर्ने बताए ।
पार्टीको गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको अध्यक्षतामा संगठन विस्तार तथा सुदृढीकरण कार्ययोजना निर्माणका लागि भएको अगुवा कार्यकर्ता भेलाले एक व्यक्ति एक समितिको वैधानिक व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय सदस्य सुस्मिता थापालाई मगरात राष्ट्रिय समितिको अध्यक्षबाट विदा गर्ने समेत निर्णय गरेका थिए ।
त्यसरी नै भेलाले संगठन विस्तार तथा सुदृढीकरण अभियानमा सम्पूर्ण केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यहरूलाई पालिका र संघीय निर्वाचन क्षेत्रमा खटाएको छ ।
खटाइएका प्रतिनिधिहरूले आफूलाई खटाइएको जिल्लाका सम्बन्धित समितिसँग समन्वय गरी परिणाममुखी काम गर्न का. वा. अध्यक्ष श्रेष्ठले निर्देशन दिए ।
तपाईको प्रतिक्रिया