काठमाडौं, १४ भाद्र । भारत तथा मित्र राष्ट्र जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औं कोर्षको एक प्रतिनिधिमण्डलले भाद्र १० देखि १४ गतेसम्म नेपालको भ्रमण गरेको छ ।
एयर भाइस मार्शल मनीष कुमार गुप्ताको नेतृत्वमा नेपाल आएकोे सो भ्रमण टोलीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायण प्रसाद साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।
टोलीले एनडिसीका भूतपूर्व विद्यार्थी एवम् नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गर्यो । टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालयको भ्रमण गरी त्यहाँका वरिष्ठ अधिकारीसँग भेटघाट गर्यो ।
राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापक पक्षहरुबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने एनडिसी विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरु मध्येको एक हो ।
भारतीय रक्षा बल तथा निजामती सेवाका वरिष्ठ अधिकारीका साथै मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीले सो कोर्षमा सहभागीता जनाएका थिए । हाल सञ्चालन भइरहेको कोर्षमा नेपाली सेनाका तीन अधिकारी सहभागी छन् ।
सन् १९९२ यता नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासहित १८ बहालवाला नेपाली सेनाका अधिकारी र सेवानिवृत्त अन्य २४ जना अधिकारीले यस एनडिसीबाट प्रशिक्षण लिइसकेका छन् ।
तपाईको प्रतिक्रिया