राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख रूपमा उठाउँछौँ : प्रधानमन्त्री

समाचार

पोखरा, १५ भाद्र । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताएका छन् ।

शुक्रबार दिउँसो पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएको बताएका हुन् ।

सभामा प्रधानमन्त्रीले भने, “केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदैछु। यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाल लगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीर रूपले कुरा उठाउँछु। आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिंगो मानव जातिको भविष्यमा नै चुनौती खडा भएको छ। यसबारे गम्भीर रूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ।“

समाजवादी मोर्चाबारे बोल्दै प्रधानमन्त्रीले भने, “मोर्चा कुनै आवेगमा बनाइएको होइन। सानो उद्देश्य लिएर बनाइएको पनि होइन। निर्वाचनको उद्देश्यमा आधारित भएर मात्रै पनि मोर्चा बनाइएको होइन। यो मोर्चा समाजवादका निम्ति, नयाँ अभियान र नयाँ संस्कृतिका निम्ति हो।“

“यहाँ धेरैजसो जनयुद्धका सहयोद्धा यहाँ छौँ। विप्लवजी, उपेन्द्रजी पनि हिजो सँगै हुनुहुन्थ्यो। माधवजी पनि एउटै पार्टीमा काम गर्नुभयो। मलाई खुसी छ“ प्रधानमन्त्रीले भने, “सबै कम्युनिस्ट क्रान्तिकारीहरू, समाजवादीहरू, लोकतान्त्रिक शक्तिको मोर्चा बनाउने र प्रकारान्तरमा एउटै कम्युनिस्ट पार्टी बनाउने संकल्पसहित यो मोर्चा बनाएका हौँ।“

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ