वीरगन्ज, १६ भाद्र । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताएका छन् ।
लायन्स क्लब अफ इन्टरनेशनलको आयोजनामा शुक्रबार आयोजित मेडिकल सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीरगञ्ज्लाई समृद्ध बनाउन लायन्स लगायत सबैको साथ र सहयोग आवश्यक रहेको बताएका हुन् ।
लायन्स क्लबले वीरगञ्ज र यस क्षेत्रमा गरेको कामको सह्राना गर्दै उनले आउँदा दिनमा वीरगञ्जको आवश्यकता र यहाँका नागरिकको चाहना बमोजिमका कार्यक्रम संचालन गर्न पनि आग्रह गरे ।
लायन्ससँग सहकार्य गर्दै महानगर अघि बढ्न तयार रहेको भन्दै मेयर सिंहले महानगरले स्थापना गरेर संचालनको तयारी गरेको वीरगञ्ज जनस्वास्थ्य प्रयोगशालामा केही उपकरणहरु आवश्यक रहेकाले त्यसको व्यवस्था गरिदिन आग्रह गरे ।
लायन्स क्लब अफ इन्टरनेशनलका डिएन अग्रवालले शिक्षा स्वास्थ्यको क्षेत्रमा लायन्स क्लबले काम गर्दै आएको जानकारी दिँदै आफूहरु महानगरसँग सहकार्य गरेर अघि बढ्न सँधै तयार रहेको बताए ।
महानगरको प्रयोगशालालाई आवश्यक परेको उपकरण उपलब्ध गराउन लायन्स तत्पर रहेको भन्दै अग्रवालले यसबारे छिट्टै निर्णय दिने पनि बताए ।
क्लबले आँखाको रेटिना सम्बन्धी उपचारका लागि अति आवश्यक उपकरण मेयर सिंहले परवानिपुर स्थित केडिया आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
करिब ८५ लाख रुपैयाँको उपकरण हस्तान्तरण भएको र यो उपकरणले आँखाको रेटिनाको शल्यकृया गर्न सहज हुने अस्पतालका संचालक राजेश केडियाले विश्वास व्यक्त गरे ।
अहिले पनि नेपाल–भारत लगायत विभिन्न स्थानका आँखाका समस्या भएका व्यक्तिहरुको उपचार गरिरहेको अस्पतालले यो उपकरण पछि अब आँखाको कुनै पनि समस्याको समाधानका लागि बाहिर जानु पर्ने बाध्यता हट्ने उनको विश्वास छ ।
यस्तै शुक्रबार नै क्लबले नेपाल मेडिसिटी बयोधा हस्पिटललाई पनि ४ थान डायलासिस मेसिन हस्तान्तरण गरेको छ । अस्पतालले डायलासिसका लागि निशुल्क व्यवस्था मिलाएकाले त्यहाँ जाने मृगौला बिरामीका लागि सहज होस भनेर आफूहरुले मेसिन उपलब्ध गराएको लायन्स क्लब इन्टरनेशनलका डिएन अग्रवालले जानकारी दिए ।
अस्पतालले यस अघि देखि नै डायलासिस निशुल्क गरिरहेको र अहिले प्राप्त उपकरणबाट पनि थप निशुल्क गर्न आफूहरुलाई उत्साह थपिएको अस्पतालले जनाएको छ ।
तपाईको प्रतिक्रिया