काठमाडौं, २१ भाद्र । जनमत पार्टीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खानले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्ति घोर निन्दनीय रहेको बताउँदै तुरुन्त फिर्ता पठाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद खानले हजारौं वर्षदेखि कायम रहेको नेपाल–भारत सम्बन्धको विषयमा चिनियाँ राजदूत विषवमन गर्ने र वैमनश्यता लगाउने काम गर्न खोजेको आरोप लगाएका छन् ।
‘चिनियाँ राजदूतको अभिव्यक्ति घोर निन्दनीय छ । यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई परराष्ट्र मन्त्रालयले तुरुन्त स्पष्टीकरण सोध्नुपर्छ,’ उनले चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउनुपर्ने माग गरेका हुन् ।
उनले चीनबाट आयातको तुलनामा निर्यात एक प्रतिशत पनि नरहेको बताउँदै यो तथ्यलाई नबिर्सन आग्रह गरेका छन् । उनले थपे, ‘बरु नेपाल–भारतको सनातनदेखिको सम्बन्ध हो । देश र राज्यको अवधारणा पनि पूर्वकालको यो सम्बन्ध बहुआयामिक हो ।’
उनले नेपालका लाखौं परिवारका मानिसहरु भारतमा काम गरेर आफ्ना परिवार पाल्दै आएको स्मरण गराउँदै नेपाल र भारतबीच जन्मदेखि मृत्युसम्मको सम्बन्ध रहेको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया