काठमाडौं, २२ भाद्र । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारत व्यापार सम्बन्धबारे दिएको अभिव्यक्तिप्रति लोकतान्त्रिक विद्यार्थी संघले आपत्ति जनाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोविसंघका अध्यक्ष रोशन कुमार मिश्रले शुक्रबार एक विज्ञप्ति जारी गरी चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउने प्रक्रिया कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।
अध्यक्ष मिश्रले विज्ञप्तिमा भनेका छन्, ‘चिनियाँ राजदूतद्वारा हाम्रो राष्ट्रिय स्वाधीनता माथि प्रहार गरी दिइएको कुटनीतिक मर्यादा विपरीतको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो देशको असंलग्न परराष्ट्र नीति रहेकोले हामी कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं र कुनै पनि देशबाट हामी माथी हुने कुनै पनि प्रकारको हस्तक्षेप सहन गर्न सक्दैनौं ।’
‘नेपाली जनता आफ्नो हित अहितको खयाल राख्न आफै सक्षम छ । एकाइसौ शताब्दीमा कुनै पनि देशले कसैको सार्वभौमसत्ता माथी प्रहार गर्नु भनेको राष्ट्र संघको मान्यता विपरीत हो । नेपाल र नेपाली जनताले कुन देशसँग कस्तो सम्बन्ध राख्ने हाम्रो विवेक माथी भर पर्ने कुरा हो ।’ उनले भनेका छन् ।
तसर्थ नेपाल सरकारले चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउने प्रकृयाको कुटनीतिक पहल गर्न माग गरेका छन् । साथै आम स्वाभिमानी नेपालीलाई चिनियाँ हस्तक्षेपको खुलेर विरोध गर्न अध्यक्ष मिश्रले आह्वान गरेका छन् ।
तपाईको प्रतिक्रिया