हेटौडा, २४ भाद्र । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरुको सातो गएको बताएका छन् ।
समाजवादी मोर्चाले बागमती प्रदेशअन्तर्गत आइतबार हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु गरेको भ्रष्ट्राचारविरुद्धको अभियानले प्रतिगामीहरुको सात्तो उडेको बताएका हुन् ।
यसपटक सरकारको नेतृत्व गरिरहँदा देश र जनताको पक्षमा देखिनेगरी काम सुरु गर्ने आफ्नो योजना अनुुरुप भ्रष्ट्राचारविरुद्ध निर्मम भएर काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।
उनले सरकार भ्रष्ट्राचारलाई निर्मुल पार्न, सामाजिक न्याय र सुशासन कायम गर्न कुनैपनि मूल्य चुकाउन तयार रहेको प्रष्ट पारे । हिजो कुशासन चलाउनेहरु अहिले सरकारले सुरु गरेको अभियानबाट आतिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी सुुरु गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।
सरकारको अभियानबाट आतिएका प्रतिक्रियावादीहरुले विभिन्न नाममा एकजुट भएर अहिले विस्तृत शान्तिसम्झौताको भावना र संविधानको मर्म विपरीत सरकारविरुद्ध सबै खाले षड्यन्त्र र तानाबाना बुुन्न तल्लिन रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।
‘सरकारले जसरी एकपछि अर्को भ्रष्ट्राचारका काण्डहरु खोल्दै गएको एकाथरीलाई मन परेको छैन् । उनीहरु सरकारविरुद्ध लागेका छन् । हिजो अनेकन भ्रष्ट्राचारका काण्ड मच्चाउनेहरु एकजुट भएर सरकारविरुद्ध लागेका छन् । कुनै पनि षड्यन्त्र, गुटबन्दी र धम्कीले सरकार अभियानबाट पछि हड्दैन् । यसलाई अझै सशक्त ढंगबाट लगिने छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।
सरकार देश र जनताको पक्षमा काम गर्न जुनसकै बाधालाई परास्त गर्दै अगाडि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्ट्राचारको विरुद्ध, जनजीविका, समृद्धि र सुशासनको पक्षमा कसैसँग घुँडा नटेक्ने बताए ।
सरकारले सुरु गरेका राम्रा कामबाट प्रतिक्रियावादीहरु आतिएको उल्लेख गर्दै उनले यो अभियान सबै नेपाली जनताको भएकाले साथ र समर्थन गरेर सरकारलाई अझै उर्जा थप्न आग्रह गरे । सरकारले हरेक काम जनताको साथबाटै आँट गरेको बताउँदै अहिलेको सरकारको अभियानमा पनि जनसमर्थन आवश्यक रहेको उल्लेख गरे ।
समाजवादी मोर्चा निर्वाचनका लागि नभएको प्रष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अहिलेका उपलब्धि र संविधानको रक्षा गर्दै गणतन्त्रलाई सर्वहारा, समाजवादीहरुको बनाउनका लागि जन्मिएको बताए ।
यो मोर्चा लामो संघर्ष र बलिदानबाट देश र जनताले प्राप्त गरेको महान उपलब्धिहरुको रक्षा गर्न बनेको उल्लेख गरे । गणतन्त्रलाई बुुर्जुुवाहरुको मात्र हुन नदिनका लागि समाजवादी पक्षधरहरु एकजुट भएर मोर्चाबन्दीमार्फत् मैदानमा उत्रिएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया