कमल राज पौडेल देवकमल, बर्दिया, ३० भाद्र । लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको थारु महिला उत्थान केन्द्रले वार्षिक साधारण सभाका साथै सामाजिक लेखा परीक्षण प्रतिबेदन सार्वजनिक गरेको छ ।
विपन्न थारु समुदायका थारु महिलाहरुको सक्रिय सहभागितामा २०४७ सालमा स्थापना भएको यो संस्थाले आफ्नो स्थापनाकालदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको सहयोगमा ग्रामीण समुदायमा आधारित एकीकृत रूपमा विपन्न वर्ग महिला, किशोर किशोरी र बालबालिकाहरुको हकहित सुनिश्चित गर्नका लागि स्वास्थ्य, शिक्षा, आय आर्जन, जलवायु परिवर्तन र दैवीप्रकोप न्यूनीकरण, बचत तथा ऋण परिचालन तथा जनवकालत सम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
संस्थागत रूपमा कुशल एवं सक्षम भई पिछडिएको एवं विपन्न वर्गका समुदायको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायत चौतर्फी विकासमा टेवा पु¥याउने उद्देश्य अनुरुप संस्थाले यस वर्ष कृषि उद्यमीहरुलाई टेवा पुगोस् भनेर डिजिटल प्रविधिको प्रयोगबारे अनुसन्धान परियोजना, महिला सशक्तिकरणका लागि सामुदायिक सुरक्षा जालो अभियान परियोजना, विपन्न गरिब सीमान्तकृत महिला बालबालिकामुक्त कमैया र जोखिममा रहेका समुदायहरुका लागि आधार परियोजना, बालबालिकाका अभिभावकका लागि बालबालिकाको सपना परियोजना, बारबर्दिया कृषि तथा पशु विकाशमा आधारित साना किसान तथा युवा उद्यमशीलताका लागि साझेदार परियोजना, समुदाय सशक्तिकरणका लागि स्थानीय पहल परियोजना र झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम परियोजना संचालनमा रहेको थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाकी कार्यकारी निर्देशक प्रिजमा सिंह थारुले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित जिल्ला समन्वय समिति बर्दियाकी उपाध्यक्ष अमिता कुमारी यादवले संस्थाले विगत लामो समयदेखि शिक्षा, स्वास्थ्यका साथसाथै कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा संस्थाको उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा लेखा परीक्षण प्रस्तुत गर्दै कार्यक्रम व्यवस्थापक तेजमणि पन्थीले यस वर्ष संचालनमा रहेका परियोजनाहरुको जम्मा बजेट १४ करोड ३४ लाख ७ हजार ५ सय ७९ रहेको जानकारी दिए ।
उक्त कार्यक्रम थारु महिला उत्थान केन्द्रकी अध्यक्ष लिलावती थारुको अध्यक्षतामा भएको थियो । अन्य अतिथिहरुका रूपमा वडा अध्यक्षहरुका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया