भारतीय राजदूत श्रीवास्तवद्वारा प्रस्तावित सुक्खा बन्दरगाह स्थलको अवलोकन

समाचार

कञ्चनपुर, १ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कञ्चनपुरको दोधाराचाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह स्थलको अवलोकन गरेका छन् ।

भारत सरकारको आर्थिक सहयोगमा भारतले नै निर्माण गर्ने भनिएको दोधाराचाँदनी सुक्खा बन्दरगाह स्थलको सोमबार राजदूत श्रीवास्तवले स्थलगत अवलोकन गरेका हुन् ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य रमेश लेखक सहितका जनप्रतिनिधि लगायतको उपस्थितिमा राजदूत श्रीवास्तवले अवलोकन गर्दै निर्धारित समयमै सुक्खा बन्दरगाहका लागि आवश्यक संरचना निर्माण गरिने बताए ।

उक्त सुक्खा बन्दरगाह निर्माण पश्चात् नेपाल र भारतको व्यापार प्रवर्धनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

वि.सं. २०६४ मा कञ्चनपुरको दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माण प्रस्ताव भए पनि गत आर्थिक वर्षमा मात्रै सरकारले उक्त योजनाको वातावरणीय प्रभाव मूल्याङ्कन ’इआइए’ प्रतिवेदन प्रस्ताव स्वीकृत गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीन वर्षभित्र दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माण गरिने उल्लेख गरेको छ ।

दोधाराचाँदनी नगरपालिका वडा नम्बर १, २ र ३ मा पर्ने मायापुरी र गौरीशङ्कर मध्यवर्ती सामुदायिक वनमा बन्दरगाह निर्माण हुनेछ । सुक्खा बन्दरगाहका लागि दुई सामुदायिक वनको दुई सय ८० बिघा जमिन प्रस्ताव गरिएको छ ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकीकृत सुरक्षा जाँच चौकीसहित सुक्खा बन्दरगाह निर्माण भारतले निर्माण गरिदिने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ