जनकपुरधाम, ३ असोज । संविधान दिवसलाई कालो दिन भन्दै तराई–मधेश लोकतान्त्रिक पार्टीले कालो झण्डासहित प्रदर्शन गरेको छ ।
वृषेश चन्द्र लाल नेतृत्वको तमलोपाका नेता कार्यकर्ताहरुले बुधबार प्रदर्शन गर्दै जनकपुरधामको चौक–चौकमा कालो झण्डा गाडेका छन् ।
जनकपुरधामको नगर प्रदर्शन गर्दै चोक चोकमा कालो झण्डा प्रदर्शन गर्दै शिव चोक, जनक चोकमा पुगेर कोणसभामा परिणत भई समापन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी दमन गर्न खोजेको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले जनाएका छन् ।
उनले ०७२ मा जारी भएको संविधान दिवसको दिन मधेशमा राज्यले नै प्रहरी प्रशासन लगाएर मधेशीको हत्या गरिरहेकाले सो दिनको विरोध गरेको बताए ।
उनले अहिलेको संविधानमा मधेश र मधेशीलाई अझैपनि अधिकार, पहिचान, सांस्कृतिक र प्रादेशिक संरचना आएपनि अधिकार सम्पन्न प्रदेशसँग प्रहरी प्रशासनसहितका अधिकार नरहेको भन्दै विरोध गरेको बताए ।
नेता मण्डलले संविधानमा जनसंख्याको आधारमा मधेशलाई समानुपातिकसहितको राज्यको हरेक निकायमा पहुँच हुनुपर्ने, प्रदेश संरचना अनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेलगायतका मागहरु रहेको बताए ।
तपाईको प्रतिक्रिया