राप्तीसोनारी–६ मा प्रसूतिसँगै एम्बुलेन्स सेवा सुरु

समाचार

नेपालगन्ज, ९ असोज । जिल्लाको राप्तीसोनारी गाउँपालिका–६ कमैयाडाँडामा प्रसूतिसँगै एम्बुलेन्स सेवा सुरु गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले प्रसूति भवन तथा एम्बुलेन्स सेवाको उद्घाटन गरेका हुन् । पालिकाका नौ वटै वडामा प्रसूति गृह निर्माण गरी घरमा हुने सुत्केरी दरलाई शून्यमा झारिने उनको भनाई छ ।

कमैयाडाँडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि त्यस क्षेत्रका गर्भवतीलाई सुत्केरी हुन नेपालगञ्ज आउनु पर्ने बाध्यताको अन्त्य भएको उनको भनाई छ । पालिकाले बर्थिङमा थप जनशक्ति पठाएर सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने पनि अध्यक्ष पौडेलले प्रतिबद्धता जनाए ।

योसँगै पालिकाका ७ स्थानमा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन् । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघि नै बर्थिङ सेन्टर सञ्चालनमा आइसकेका छन् ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाइकर्मी र एक जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी कार्यरत छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ