काठमाडौं, १२ असोज । नेपालका उत्कृष्ट शैक्षिक संस्थाहरुसँगको अन्तरक्रियाको पहिलो दिन लखनऊ विश्वविद्यालयका उपकुलपति प्रा. आलोक कुमार राई नेतृत्वको एक भारतीय शैक्षिक प्रतिनिधिमण्डलले नेपालका उच्च शिक्षा संस्थाहरुसँग द्विपक्षीय शैक्षिक तथा सांस्कृतिक कार्यशालाको आयोजना सम्पन्न गरेको छ ।
सो कार्यशालामा लुम्बिनी विश्वविद्यालय र राजऋषि जनक विश्वविद्यालयका उपकुलपतिसँग भारत र नेपालबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धको सम्भावनाबारे बृहत छलफल भएको हो ।
सो अवसरमा राजऋषि जनक विश्वविद्यालय, क्वेस्ट इन्टरनेशनल कलेज, काठमाडौं डन बस्को कलेज र पोखराको नोभेल कलेजसँग शैक्षिक तथा सांस्कृतिक समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।
उपकुलपति राईको प्रस्तावमा नेपालका उच्च शिक्षा संस्थाहरुले आपसी हितका क्षेत्रलाई पहिल्याउन र विद्यार्थीकेन्द्रीत शैक्षिक सहकार्य गर्न सहमति जनाए ।
“भारत–नेपाल सम्बन्धले दुई देशको आत्मालाई छुन्छ । तसर्थ हाम्रो शिक्षाले एकातिर मानव संसाधन र अर्कोतर्फ दुई देशको सामूहिक चेतनाका दिगो सम्बन्ध निर्माण गर्नेछ,” उपकुलपति राईले भने ।
“लखनउ विश्वविद्यालयले अनुसन्धान र साझा चासोको विचार विमर्शको माध्यमबाट सांस्कृतिक, शैक्षिक र वैज्ञानिक नीति निर्माणका लागि मञ्चको रुपमा भारत–नेपाल ल्याबको स्थापना गर्दैछ,” उनले भने ।
“कोमल मस्तिस्कलाई बुझि त्यसलाई यो जगतलाई सकारात्मक र आनन्दित ठाँउ बनाउनेतर्फ हाम्रो शिक्षाको उद्देश्य हुनुपर्छ । यो महान उद्देश्यलाई रचनात्मक विचार विमर्शका साथ साकार पार्न सकिन्छ,” उपकुलपति राईले भने ।
साझेदार संस्थाहरुले लखनऊ विश्वविद्यालयका प्रतिनिधिमण्डलले उठाएका विचारमा सहमति जनाउदै शैक्षिक, वैज्ञानिक र सांस्कृतिक साझेदारीमा सहकार्य गर्न सहमत भए । लखनऊ विश्वविद्यालयको नेपाली जनतासँग घनिष्ट सम्बन्ध रहेको छ । ठूलो संख्यामा नेपालका विद्यार्थीहरुले यस विश्वविद्यालयमा अध्ययन गरेको छन् ।
हाम्रो छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्ने ‘क्षितिज समन्वय १.१’ सँगै हामी हाम्रा नेपाली साझेदारहरुसँग रचनात्मक रुपमा हातेमालो गर्न प्रतिबद्ध छौं । “हाम्रो मानव संसाधन विकास केन्द्रमा हामी नेपाली साझेदारहरुका लागि तालिक र कार्यक्रम र कार्यशाला सुरु गर्नेछौं,” उपकुलपति राईले भने ।
तपाईको प्रतिक्रिया