कमल राज पौडेल देवकमल, गुलरिया, १४ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बर्दियाको केरा जोन संचालन समन्वय समितिको असोज २० गते निर्वाचन हुने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यालय गुलरिया बर्दियाले २०७८ भाद्र २१ गते गठन गरेको केरा जोन संचालन समन्वय समितिको समयावधि सकिएकाले समितिले असोज १३ गते पुनर्गठन भेला आह्वान गरेको थियो ।
उक्त भेलामा अध्यक्ष पदमा सहमति हुन नसके पछि निर्वाचनमा जाने निर्णय भएको केरा जोन संचालन समन्वय समिति बर्दियाका अध्यक्ष टंकनाथ योगीले बताए ।

परियोजना कार्यान्वयन इकाईले जोन विकास कार्यक्रम संचालनमा सहजीकरण र लाभग्राहीको अनुगमन गर्न लाभग्राहीको प्रतिनिधित्व रहने गरि परियोजना कार्यान्वयन इकाईमा जोन स्थापनाका लागि सुचिकृत भएका निश्चित क्षेत्र भित्रका संस्थाहरुको प्रतिनिधित्व हुने गरि ९ सदस्यीय जोन संचालन समन्वय समिति गठन गर्नुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई बर्दियाका निमित्त कार्यलय प्रमुख सर्जन बहादुर शाहीले बताए ।
उनका अनुसार यसरी गठन हुने समितिमा कम्तीमा ३ जना महिलाको सहभागिता हुनुपर्ने छ । सदस्य मध्ये एक जना समितिको संयोजक हुनेछ र समिति पदावधि २ बर्षे हुनेछ ।
प्रमुख शाही भन्छन्, ‘जोन संचालन निर्देशिका अनुसार आज हामीले बर्दिया जिल्ला भित्रका हाम्रो कार्यालयमा सुचिकृत हुनुभएका व्यवसायीक केरा खेती गर्ने किसानहरुको भेला बोलाएका थियौ । भेलामा किसान दाजुभाईहरु बीच एक आपसमा संयोजक पदका लागि सहमति हुन सकेन र वहाँहरुले निर्वाचनमा जाने निर्णय गर्नुभएको छ, हामीले निर्वाचन प्रक्रिया अगाडि बढाई सकेका छौ । किसान दाजुभाइहरु बीच एक आपसमा प्रतिस्पर्धा हुनु त राम्रो हो तर त्यो प्रतिस्पर्धा आफ्नो खेत बारीमा अन्न उत्पादन बढाउनुमा भएकोभए अझ राम्रो हुनेथियो ।’

बर्दिया जिल्ला भित्र ३ सय हेक्टर क्षेत्रफल जमिनमा केरा खेती हुने गर्छ । त्यसमा सबैभन्दा अधिक गुलरिया नपा भित्र २ सय ९० हेक्टर क्षेत्रफल जमिनमा केरा खेती हुने गरेको छ ।
समग्र बर्दियामा हुने केरा खेतीबाट वार्षिक १० हजार ९ सय मेट्रिक टन केरा उत्पादन हुने गरेको छ । यसरी उत्पादन हुने केराको वार्षिक कारोबार १६ करोड हुने गरेको भेलामा सहभागी हुने किसानहरुलाई वितरण गरिएको प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया