काठमाडौं, १५ असोज । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिक मैत्री समाज निर्माण गर्नको लागि ज्येष्ठ नागरिकलाई सम्मान र आदर गर्नु पर्ने बताएका छन् ।
३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कुलेश्वरमा आयोजित कार्यक्रममा मन्त्री आचार्यले यस्तो बताएका हुन् ।
आचार्यले मातृ देव भवः पितृ देवो भवः भन्ने मान्यतालाई आत्मसाथ गरि परिवार र समाजले विगतमा जेष्ठ नागरिकहरुको कारणले नै सबैलाई दिएको सेवाको स्मरण गर्दै उनीहरुलाई सम्मान दिनु पर्ने बताए ।
ज्येष्ठ नागरिकको सम्मान लालन पालन तथा अधिकार प्राप्ति र औषधी उपचारका लागि सरकारले सबै पक्षसँग हातेमालो गरेर अगाडि बढ्ने समेत आचार्यले बताए ।
पछिल्लो समयमा अध्ययन र रोजगारीका लागि युवाहरु शहर तथा विदेश जाने प्रचलन बढेकोले गाउँमा ज्येष्ठ नागरिकको पालनपोषण तथा उपचारमा समस्या रहेको उल्लेख गर्दै मन्त्री आचार्यले जिम्मेवार परिवारले आफ्ना बुवा आमालाई सम्मानजनक रुपमा पालनपोषण गरेर आफूहरुको लगानी र प्राप्त योगदान तिर्नु पर्ने बताए ।
साथै, मन्त्री आचार्यले सरकारले ज्येष्ठ नागरिक अस्पताल, ज्येष्ठ नागरिक दिवा सेवा, ज्येष्ठ नागरिक आवास निर्माण जस्ता कामहरुको सुरुवात गरेको समेत उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया