कमल राज पौडेल देवकमल, बर्दिया, १६ असोज । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔ महा–अभियानका अभियन्ता दुर्गा प्रसाईं भोलि बुधबार जिल्लाको सदरमुकाम गुलरिया आउन लागेका छन् ।
लघुवित्तिय, बैंक, सहकारी र बीमा पीडितहरुको निमन्त्रणामा पीडितहरुसँग अन्तरक्रिया कार्यक्रमका लागि नागरिक बचाऔ महा–अभियानका अभियन्ता प्रसाईं गुलरिया आउन लागेकोे कुरा अभियान बर्दिया जिल्ला इन्चार्ज साहादत गद्दीले जानकारी दिएका हुन् ।
लघुवित्तिय, सहकारी, बैंक र बीमा पीडित र गुलरियामा २०६६ सालदेखि संचालनमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाले १२ हजार बचतकर्ताहरुको ३५ करोडभन्दा अधिक रकम लिएर फरार हुँदा पनि स्थानीय प्रशासनले सहकारी संचालकहरुलाई गिरफ्तार गरि कार्यवाही प्रक्रिया अगाडि नबढाएको हुनाले नमस्ते सहकारीबाट पीडित बचतकर्ताहरु र बैंक तथा लघुवित्तिय संस्थाका पीडितहरुको आग्रहमा आफुले राष्ट्रिय, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔ महा–अभियानका अभियन्ता समाजसेवी प्रसाईंलाई गुलरिया आएर पीडितहरुको पीडा सुनिदिनलाई निमन्त्रणा गरेको र सोही बमोजिम प्रसाईं गुलरिया आउन लागेको कुरा जिल्ला इन्चार्ज गद्दीले बताए ।
जिल्लाको ८ वटा पालिकामा वडादेखि पालिकासम्म महा–अभियानको समिति गठन भइसकेको र भोलि हुने कार्यक्रममा ३ हजारदेखि ५ हजारसम्मको संख्यामा बैंक तथा लघुवित्तिय संस्थाबाट पीडित भएका बर्दियावासीको कार्यक्रममा सहभागीता हुनुका साथै हाम्रा छिमेकी जिल्ला सुर्खेत, बाँके र कैलालीसम्मका जनसमुदायको उक्त कार्यक्रममा सहभागिता रहने छ भन्ने कुरामा आफू विश्वस्त रहेको अभियान बर्दियाका अध्यक्ष राजेश अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया