“वर्तमान सरकारको विकल्प खोज्नु ठिक होइन”

समाचार

जनकपुरधाम । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा बनेको गठबन्धन सरकार विकल्प खोज्ने बेला नभएको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन मधेश प्रदेशले जनकपुरधाममा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक स्थिरता, सुशासन तथा समृद्धिका लागि अहिले नै वर्तमान प्रधानमन्त्रीको विकल्प खोज्नु ठिक नभएको बताएका हुन् ।

उनले काँग्रेस विनाको सरकारको कल्पनासम्म गर्न नसकिने बताउँदै आफू प्रधानमन्त्री बन्नुको साटो विभिन्न बहानामा व्यवस्थालाई नै समाप्त गर्ने गरि भइरहेको षड्यन्त्रलाई चिर्न अहिलेको गठबन्धन सरकारलाई अझ बढी एकताबद्ध भएर अगाडि बढ्नु पर्ने पक्षमा भएको बताए ।

नेपालले मुलुकमा सदियौँ देखि स्थापित रहेको नेपाली नेपाली बीचको आपसी सद्भाव, भाइचारा तथा धार्मिक विविधतालाई खलबलाउन खोज्नेलाई परास्त गर्दै वर्तमान संविधानको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको बताए ।

उनले विविधता बीचको राष्ट्रिय एकतालाई खलबलाउन खोज्नेलाई सावधान गर्दै हिमाल, पहाड, तराई मधेशका जनता मिलेर बसेको र अगामी दिनमा झनै राम्रो गरि बसेर मुलुकलाई शान्ति, स्थिरता तथा समृद्धिको बाटोमा लाने बताए ।

उनले मुलुकमा रहेको बेरोजगारी समस्याको समाधान गर्नका लागि सुशासन सहितको समृद्धि आवश्यक रहेको बताउँदै यसका लागि इमान्दार प्रयासको खाँचो रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ