काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संगठन सुदृढीकरणलाई प्राथमिकता दिने निर्णय गरेको छ । लोसपाको दुई दिनसम्म चलेको केन्द्रीय पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
लोसपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको दुईदिने बैठकको निर्णयहरु सार्वजनिक गर्दै बैठकले संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखी त्यस अनुरुपको रणनीति, कार्यनीति र कार्यक्रम अविलम्ब तयार गरी प्रदेश, जिल्ला र स्थानीय तहहरुमा पठाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, केन्द्रीय पदाधिकारीहरुको बैठकले संविधान संशोधनका लागि माग गरेको छ । संविधानमा रहेको विभेदपूर्ण धारालाई संशोधन गर्न सरकार र सत्तारुढ गठबन्धनका साथै प्रमुख प्रतिपक्ष एमाले समेतको सहयोगमा संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गर्नु आवश्यक रहेको अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
साथै, बझाङमा आएको भूकम्पप्रति लोसपा नेपालले दुःख व्यक्त गर्दै उचित राहतको लागि सरकारसँग माग गरेको छ ।
विगत केही समयदेखि मलंगवा, नेपालगञ्ज र अन्य केही ठाउँमा धार्मिक अतिवादीहरुद्वारा यसद्भाव बिथोल्ने प्रयास निरन्तर जारी रहेकोप्रति लोसपा गम्भीर बनेको बताउँदै यसको नियन्त्रण र समाधानको लागि लोसपा नेपाल स्थानीय स्तरका राजनीतिक, धार्मिक नेता, समस्त समाजसेवीलाई सौहार्दता, संयमता अभिवृद्धि गराउन अपिल गरेको छ ।
आधारभूत आवश्यकताको वस्तुहरुमासमेत एक्कासी मूल्य वृद्धि हुनु, कालोबाजारी हुनु, अनुगमन र नियमनको सही कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले मूल्य नियन्त्रण गर्न माग गरिएको छ ।
सुन तस्करहरुद्वारा चीनबाट भारी मात्रामा सुन ल्याएर अनाधिकृत बाटोबाट भारतमासुन पठाउने कार्य विगत केही समयदेखि लगातार भइराखेको कुरा अहिले सार्वजनिक भएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले यसले एकातिर देशको अर्थतन्त्रमाथि थेग्नै नसक्ने गरी नकारात्मक असर पारेको विज्ञप्तिमा उल्लेख छ । साथै, लोसपाले कोशी प्रदेशमा भइरहेको आन्दोलनप्रति एक्येवद्धता जनाएको छ ।
तपाईको प्रतिक्रिया