काठमाडौं । वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने नेपाल सरकारको नीति अनुरुप विभिन्न मित्रराष्ट्रहरुबीच द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई निरन्तरता दिने क्रममा रोमानियासँग द्विपक्षीय श्रम सम्झौता भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र Ministry of Labour and Social Solidarity of Romania का मन्त्री Simona Bucura–Oprescu बीच द्विपक्षीय श्रम समझदारीमत्रमा हस्ताक्षर भएको श्रममन्त्री भण्डारीको सचिवालयबाट रञ्जित निष्पक्षले जानकारी दिएका हुन् ।
नेपालको तर्फबाट प्रतिनिधिमण्डलमा सहभागी मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, जर्मनीका राजदूत रामकाजी खड्का, रोमानीयाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेल समेतको सहभागीत रहेको र रोमानीया पक्षबाट श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च तहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
उक्त द्विपक्षीय वार्तामा श्रममन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरु र द्विपक्षीय श्रम समझादारीका आवश्यकता र प्रभावका वारेमा प्रस्तुत गरेका थिए ।
रोमानीया पक्षबाट नेपाली कामदारको हक, हित सुरक्षा कायम गर्ने प्रतिवद्वता व्यक्त गर्दै उलेख्य संख्यामा नेपाली कामदार माग रहेको र पारदर्शी रुपमा कामदारको छनौट तथा छोटो अवधिमा कामदार ल्याने प्रकृयामा समन्वय र सहकार्य गर्ने चासो व्यक्त भएको निष्पक्षले जनाए ।
यूरोपेली मुलुक, रोमानीया नेपाली श्रमिकहरुका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यको रुपमा रहेको र श्रम बजारको फराकिलो संभावना रहेकोले नेपाल र रोमानीयाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप समझदारी कायम भएको छ ।
प्रतिनिधिमण्डलबीचको द्विपक्षीय वार्ताको क्रममा नेपालमा छिट्टै रोमानीयाका लागि राजदूतावास स्थापना गरी आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधी तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानीयमा नेपाली श्रमिकहरुका लागि संभावित सिपयुक्त श्रम वजारको पहिचान गर्नका साथै महिला श्रमिकहरुलाई समेत लक्षित गरि सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्ने चाहाना रोमानीया पक्षबाट प्रस्तुत भयो ।
दोहोरो कारार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यवसायिक सिप जस्ता विषयहरुमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमती कायम भएको छ ।
मुलतः रोमानीयामा ठूलो संख्यामा आप्रवासी कामदारहरुको माग रहेको, नेपाली कामदारहरुको कार्य स्वभाव, इमान्दारीता, लगनशिलताले रोजगारदाताको विश्वास आर्जन गर्न सकेकोले नेपालबाट कामदार छोटो समयमा Ethical Recruitment का मार्फत रोमानीया ल्याउने कानूनी प्रावधान तथा व्यवस्थापनका वारेमा चासो व्यक्त भएको छ ।
कामदारको सामाजिक सुरक्षाको हकमा रोमानीयमा कार्यरत रहेका कुनै पनि आप्रवासीकामदारहरुले रोमानीयाका नागरिक सरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको जानकारी गराउदै दुबै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्न दुबै पक्षबाट प्रतिवद्वता व्यक्त भयो ।
तपाईको प्रतिक्रिया