कमल राज पौडेल देवकमल, बर्दिया । पुर्खौली घर स्याङ्जाबाट बसाइसराई गरी २०२७ सालमा ठुटेपिपल भैरहवा आएको छायाँदत्त भूसालको परिवार २०३९ सालमा भैरहवाबाट बसाईसराई गरी बर्दियाको तत्कालीन डेउडाकला गा.वि.स. हाल बासगढी नगरपालिका वडा न. ७ छोट्की डेउडा आइपुगे ।
छोटकी डेउडा निवासी तत्कालीन जिल्ला पञ्चायत बर्दियाका सभापति सुरेन्द्र चन्द ठकुरीसँग उनको सामिप्य बढेपछि तत्कालीन जिल्ला पञ्चायत बर्दियाको मातहतमा रहेको हाल बढैयाताल गाउँपालिका वडा न. ५ मा रहेको १ सय ९ बिघाभन्दा अधिक क्षेत्रफल ओगटेको बेवारिसे अवस्थामा रहेको बढैयातालको तत्कालीन अवस्थामा रु ३ लाख रुपियाँ खर्च गरेर मर्मत सम्भार गरी जिल्ला पञ्चायत समितिलाई वार्षिक ६ हजार दिने गरी २०४२ सालमा माछापालन व्यवसाय सुरु गरे ।
त्यसबेला व्यावसायिक रुपमा माछापालन गर्ने बर्दिया जिल्लाको पहिलो किसान छायाँदत्त भूसाल नै भए । उनले यो व्यवसाय पूर्वमा बाँके पश्चिममा कैलाली हँुदै कन्चनपुरसम्म पु¥याए ।
२०२७ सालमा तत्कालीन सरकारले भैरहवाको ठुटेपिपलमा नेपालको तराई र मधेश क्षेत्रमा माछापालन व्यवसायलाई प्रवद्र्धन गर्ने र माछापालन ब्यवसाय गर्न चाहाने किसानहरुलाई प्राविधिक ज्ञान र सिप दिने उदेश्य अनुरुप मत्स्य विकास परियोजना संचालन गरेको थियो ।
सोही परियोजनाबाट प्रभावित भएका छायाँदत्त भूसालले पटक–पटक गरेर १९ वर्षसम्म हाल बढैयाताल गाउँपालिका अन्तर्गत रहेको बढैयातालमा ठेक्का लिएर माछापालन गरे । उनले २०४४ सालमा आफनो निजी ४ विघा खेतीयोग्य जमिनमा पोखरी निमार्ण गरी माछापालन सुरु गरे र त्यस क्षेत्रका अन्य किसानहरुलाई खेतीयोग्य जमिनमा पनि पोखरी निमार्ण गरी माछापालन ब्यवसाय गर्न सकिन्छ भन्ने सन्देश दिए ।
आज उनले आफ्नो निजि २० बिघा खेतीयोग्य जमिनमा पोखरी निर्माण गरी माछापालन गरेका छन् भने उनले गरेको देखेर आज बढैयाताल गाउँपालिकाका वडाहरु ५, ६, ७ र ८ का १ सय ८० घर परिवारका किसानहरु माछापालन व्यवसायमा आवद्ध छन् ।
त्यस क्षेत्रमा दैनिक १५ क्वीन्टल माछा उत्पादन भै जिल्ला भित्र र जिल्ला बाहिर बाँंके, बर्दिया, सुर्खेत र कैलाली जिल्लाका विभिन्न शहरहरुमा माछा बजारीकरणका लागि जाने गर्छ । हाल नेपाल सरकारले त्यस क्षेत्रलाई लक्षित गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ५ वर्षीय माछाजोन कार्यक्रम संचालन गरेको छ ।
यदि माछाजोन कार्यक्रमलाई सफलतासम्म पुराउने हो भने छायाँदत्त भूसाल जस्ता लगनशील र मेहनती किसान छनोट गरी कार्यक्रममा छनोट गरी कार्यक्रममा समावेश गर्नुपर्छ, अन्यथा घरको अाँगनमा खाल्टो देखाएर माछाजोन कार्यक्रममा आएको अनुदानको दुरुपयोग भई कार्यक्रम असफल हुन सक्छ ।
बढैयाताल गाउँपालिका वडा न. ५ जगतिया गाउँ निवासी ७५ वर्षीय व्यावसायिक माछापालक किसान छायाँदत्त भूसालसँग भेटी कुराकानीको आधारमा तयार पारिएको समाचार ।
तपाईको प्रतिक्रिया