कमल राज पौडेल देवकमल, बर्दिया, २१ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बर्दियाको केरा जोन सञ्चालन समन्वय समितिमा नयाँ नेतृत्व चयन भएको छ ।
असोज १४ गते केरा जोन सञ्चालन समन्वय समिति बर्दियाले नयाँ नेतृत्व चयनका लागि कार्यालयमा सूचिकृत भएका व्यवसायी केरा खेती गर्ने कृषकहरुको भेला बोलाएको थियो । उक्त भेलाबाट नयाँ नेतृत्वमा सहमति हुन नसकेपछि असोज २० गते निर्वाचन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम गुलरिया नपा–५ निवासी केरा व्यवसायी शम्भु प्रसाद अधिकारीको संयोजकत्वमा सदस्यहरु नारायण रावल, परे चनारा, गणेश लामिछाने, गिता राना, दिपक राज बि.क., टीका कुमारी सम्सेली, जित कुमारी योगी र मन्जु यादवसहितको ९ सदस्यीय केरा जोन सञ्चालन समन्वय समिति सहमतिको आधारमा चयन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय बर्दियाका निमित्त प्रमुख सर्जन बहादुर शाहीले बताए ।
बर्दिया जिल्ला भित्र ३ सय हेक्टर क्षेत्रफल जमिनमा केरा खेती हुने गर्छ । त्यसमा सबैभन्दा अधिक गुलरिया नपा भित्र २ सय ९० हेक्टर क्षेत्रफल जमिनमा केरा खेती हुने गरेको छ ।
समग्र बर्दियामा हुने केरा खेतीबाट वार्षिक १० हजार ९ सय मेट्रिक टन केरा उत्पादन हुने गरेको छ । यसरी उत्पादन हुने केराको वार्षिक कारोबार १६ करोड हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय बर्दियाले जनाएको छ ।




तपाईको प्रतिक्रिया