रुपन्देही, २५ असोज । लुम्बिनी प्रदेश योजना आयोगको समन्वयमा विभिन्न प्रदेशका पूर्व मुख्यमन्त्रीहरू तथा सबै प्रदेशका योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको दुई दिने भेला रुपन्देहीमा सुरु भएको छ ।
प्रदेशहरूको दोस्रो आवधिक योजना निर्माण र प्रदेश योजना आयोगको अवस्था र अबको भूमिकाका विषयमा छलफल गर्न उनीहरू लुम्बिनीमा भेला भएका छन् ।
शुक्रवारसम्म चल्ने भेलामा कोशीबाहेक सबै प्रदेशका योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु, मधेश र लुम्बिनीका पूर्व मुख्यमन्त्रीहरू तथा लुम्बिनीका वर्तमान मुख्यमन्त्रीको सहभागिता रहेको रहेको छ ।
भेलामा सबै प्रदेशहरूको दोस्रो आवधिक योजनाबारे छलफल, सङ्घीयता कार्यान्वयनमा प्रदेश योजना आयोगहरूको अहिलेसम्मको भूमिका, अधिकार प्रत्यायोजनको अवस्था र अबका दिनमा आयोगले खेल्नुपर्ने भूमिकाको विषयमा छलफल हुनेछ ।
अहिलेसम्मको समग्र अवस्थाको समीक्षा, भोलिका दिनको योजना र आयोगको भूमिका तथा दोस्रो आवधिक योजना निर्माण र संघीय सरकारको १६ औँ योजनाको अन्तरसम्बन्ध र एकरूपता ल्याउने विषय भेलाका मुख्य एजेण्डा छन् ।
यसैगरी अन्य प्रदेशका अहिलेसम्मका अभ्यास र उठेका विषयवस्तु माथि पनि छलफल गरेर प्रदेशहरूको विकासको योजना तयार हुने जनाइएको छ । यसैगरी संघ, प्रदेश र स्थानीय तहको समन्वयको विषय पनि भेलामा छलफल हुनेछ ।
तपाईको प्रतिक्रिया