जनकपुरधाम, २८ असोज । नेपाल–भारत खुला सीमा सम्वाद समूहले निरन्तर खुला सीमाको आवश्यकता, महत्व र समस्याहरुबारे विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । सोहीअन्तर्गत खुला सीमा सम्वाद समूहले अस्ति बिहीबार “नेपाल–भारत खुला सीमा बिषयक अन्तर संवाद” कार्यक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रममा नेपाल र भारतका प्रतिष्ठित राजनीतिकर्मी, व्यवसायी, विशिष्ट व्यक्तित्व, दूतावासका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुले नेपाल भारत सम्बन्धलाई कमजोर बनाउने केही तत्वलाई निरुत्साहित गर्नुपर्ने आवश्यक्ता रहेको बताएका थिए । नेपालीहरु भारततर्फ जाँदा भारतीय सीमा सुरक्षावला एसएसवीले पहिचानपत्र खोज्न थालेकोमा चिन्ता व्यक्त गर्दै वक्ताहरुले यस्ता कार्यले गलत सन्देश गइरहेको प्रति सचेत गराएका छन् ।
नेपाल भारत खुला सीमा सम्वाद समूहद्वारा आयोजित खुला सीमा विषयक अन्तर सम्बादमा वक्ताहरुले दूबै देशबीच सम्बन्ध खराब हुने कार्य कतैबाट हुन नपर्ने बताएका थिए । नेपाल र भारतबीचको सम्बन्धलाई घनिष्ठ अनि विशेष बनाउने प्रमुख तत्व भनेको धार्मिक, सामाजिक एवं सांस्कृतिक समानता नै हो । यी दूई देशहरूका जनताले प्राचीन समयदेखि एकै खाले धर्म, संस्कार अंगालेको पाइन्छ भने मिल्दाजुल्दा सामाजिक, सांस्कृतिक चलन र रीतिरिवाज अवलम्बन गरेको पाइन्छ ।
हाम्रा धर्मग्रन्थहरुको विकास गर्दा होस् वा त्यसको अभ्यास गर्दा होस् दुवै देशहरूबीच कुनै भौगोलिक सिमानाको बन्देज रहेको देखिँदैन । हिन्दू धर्मले मान्दै आएका देवीदेवताहरूदेखि लिएर ऋषिमुनिहरूले आफ्नो ज्ञान साधनाको लागि निर्वाधरूपमा एक–अर्को देशमा आवतजावत गरेको देखिन्छ । विश्वका शान्तिका प्रतीक एवं बौद्ध धर्मका प्रतिपादक गौतम बुद्धले समेत नेपाली भूमिका जन्मेर भारतको भूमिमा गएर ज्ञान प्राप्त गरेका थिए । भारत र नेपालबीचको रोटी–बेटीको सम्बन्ध अहिले मात्र जोडिएको होइन ।
अयोध्याका राजा रामले मिथिलाका छोरी जानकीसँग विवाह गरेका थिए । यसैगरी दुवै देशले धुमधामसँग मनाउने चाडपर्व उही छन्, सामाजिक मूल्य, संस्कार सबैमा धेरै समानता पाइन्छ । तसर्थ यी दुई देशबीचको सम्बन्ध जस्तोसुकै तागतले पनि छुट्याउनै नसकिने गरी कसिलो छ, प्रगाढ छ ।
समारोहमा श्रम तथा यातायात मन्त्री चन्दन सिंहले सीमामा रहेका दूबैदेशको धार्मिक तथा पर्यटकीय क्षेत्रको सुधारका लागि कार्यक्रम ल्याउन भारत सरकारसँग आग्रह गरेका छन् । सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन गर्दा सांस्कृतिक सम्बन्ध र घनिष्ठ मित्रतालाई ध्यानमा राखेर गर्नुपर्ने उहाँले अर्को प्रसंगमा वताए ।
उहाँले खुल्ला सीमाले धेरै विषयमा सहजता भए पनि ड्रग्सको कारोबारका कारण युवाहरू कुलतमा फस्दै गएकोप्रति दुवै देशका सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
पूर्व मन्त्री एवं सांसद रामसरोज यादवले चुरे संरक्षणका लागि भारत सरकारलाई विशेष योजना ल्याउन आग्रह गर्दै चुरे संरक्षण भएन भने नेपाली भूमि मात्रै नभइ चुरे रेन्जका भारतीय भूमिमा पनि जलसंकट हुने वताए ।
संविधान सभाका पूर्व सांसद एवं तमलोपकाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले सन् १९५० मा गरिएको ‘शान्ति तथा मैत्री सन्धि’ पछि नेपाल र भारतका बीचको भौगोलिक सिमाना घोषित रुपमा खुला रहेको छ । उक्त सन्धीको बुँदा नम्बर ७मा लेखिएको छ, ‘भारत र नेपालका सरकारहरु आवास, सम्पति माथिको स्वामित्व, वाणिज्य तथा व्यापारमा सहभागिता, आवत–जावतको सुविधा र यस्तै प्रकृतिका अन्य सुविधाहरुमा एउटा देशका नागरिकलाई अर्को देशको भूमिमा पारस्पारिक आधारमा समान सुविधा प्रदानगर्न मंजुर गर्दछन्यो पालना तर्फ दूबै सरकारले कार्य गर्नुपर्छ वताए ।
एकअर्को प्रसंगमा उहाँले वातावरणमा परि रहेको असरलाई रोक्न दूबै देशले एक रुपमा काम गर्नु पर्ने आवश्यकता माथि जोड दिएका छन् ।
प्रदेश सांसद दिपेन्द्र ठाकुरले बोर्डर हटाउने पक्षमा आफू नरहेपनि जनतालाई दुःख दिने कामको आफू सदैव विरोध गर्ने गरेको वताए ।
वीरगञ्ज महावाणिज्य दूतावासका अधिकारी शैलेन्द्र कुमारले सीमामा देखिएको समस्याप्रति आफूहरुपनि गम्भीर रहेको वताए । नेपाल भारतको सीमालाई भारत पाकिस्तान नबुझन सीमामा काम गर्ने सुरक्षाकर्मीलाई आग्रह गर्नुभयो । कोभिड भन्दा पहिला र कोभिड पछिको अवस्थामा सीमामा केही समस्या बढेको स्वीकार गर्दै उहाँले भन्नुभयो – यति डाइमेज नगरिदिनुस हामीलाई सम्हाल्न धौ धौ परोस । भारतीय सीमा सुरक्षा बललाई नेपालीसँग सरल व्यवहार गर्न निर्देशन दिइएको समेत बताए ।
नेपाल भारत खुल्ला सीमा संवाद समूहका अध्यक्ष राजिव झाले नेपाल र भारतबीचको सन् १९५० को शान्ति र मैत्री सन्धी परिमार्जन वा खारेज गरी त्यसको ठाउँमा नयाँ सन्धी गर्ने । खासगरी नेपाल र भारत दुवै देशका प्रवुद्ध व्यक्ति (इ. पि.जी) ले यससम्बन्धी विस्तृत अध्ययन गरी सुझाव दिएको कार्यको आफूहरु स्वीकार नगर्ने बताए । केही व्यक्ति नेपाल भारतको समबन्ध खराब गर्नमा लागि परेको बताउँदै उहाँले भन्नुभयो – खराब गर्ने तत्वको खोजी गरी सार्वजनिक गनुृपर्छ ।
समारोहमा कैट जयनगरका अधयक्ष प्रितम बरोलिया, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, नगराइन नगरपालिकाका मेयर विनय यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, जयनगरका वरिष्ठ पत्रकार ललित झा, जनकपुर उद्योग वाणिजय संघका अध्यक्ष जीतेन्द्र महासेठ, मधेशवादी नेता रमण पाण्डे, तमलोपाका नेता रामजी राय, चैम्बर अफ कर्मश जयनगरका महासचिव अनिल वरौलिया, जयनगरका अध्यक्ष कैलाश पासवान, समाजशास्त्रका प्राध्यापक डा. सुशिल यादव, मँ जानकी यातायात व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, नागरिक समाजका अध्यक्ष मुरलीमनोहर मिश्र, मनिष झा श्रीओम लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा स्वागत गीत स्मृति मिश्राले गाएकी थिइन् । कार्यक्रममा दुवै देशका नागरिक सम्मिलित सीमा संवाद समूहका अध्यक्षबाट संयुक्त रुपमा सीमामा देखिएको समस्या समाधानका लागि भारतीय महावाणिज्य दूतलाई लिखित ज्ञापनपत्र दिइएको थियो ।
तपाईको प्रतिक्रिया